शुक्रबार , अषोज ४, २०८१

काठमाडौंको फोहोर व्यवस्थापन गर्न गगन थापाले दिए यी ६ सुझाव

लामो समयपछि काठमाडौंबाट फोहोर उठ्न थाले पनि दीर्घकालीन समाधान नभएका बेला थापाले यस्तो सुझाव दिएका हुन् ।

image

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं उपत्यकामा फोहोरको संकट समाधान गर्न तत्काल ६ काम थाल्नुपर्ने बताएका छन् ।

लामो समयपछि काठमाडौंबाट फोहोर उठ्न थाले पनि दीर्घकालीन समाधान नभएका बेला थापाले यस्तो सुझाव दिएका हुन् ।

उनले फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको निरन्तरको पहलकदमी प्रशंसनीय रहेको बताएका छन् ।

‘अब फेरि फोहोरको यस्तै सङ्कट आउन नदिन केही काम तत्काल र तदारुकताका साथ गर्नुपर्ने छ’, उनले फेसबुकमा लेखेका छन् ।

यस्ता छन् गगन थापाका ६ सुझाव ?

१. सहरी विकास मन्त्रालयले बोलाएको छलफलमा सहभागी सिसडोल(बन्चरेडाडा क्षेत्रका बासिन्दाहरूले भन्दै हुनुन्थ्यो, मन्त्रालयले गरेको पछिल्लो सम्झौता १७५औँ सम्झौता हो ।

हरेक पटक सङ्कट परेपछि यस्तो सम्झौता हुन्छ तर कार्यान्वयन हुँदैन । त्यसैले सम्झौता कार्यान्वयन नहुनेमा गहिरो आशंका व्याप्त छ । यो स्वभाविक संशयलाई यो पटक सम्झौता अक्षरंस र भनेकै समय सीमाभित्र कार्यान्वयन गरेर चिर्नुपर्ने छ ।

२. यसका लागि संघीय सरकारले गर्ने भनी निर्दिष्ट गरिएको काम यसपटक एक ठाँउमा पनि नचुकी भनिएकै समयभित्र गर्न सहरी विकास मन्त्रालयको निरन्तर तदारुकता जरुरी छ । सम्झौतामा लेखिएका केही काम सहरी विकास मन्त्रालयभन्दा अन्य मन्त्रालयको क्षेत्राधिकारभित्र पर्छ ।

ती मन्त्रालयले समयमा काम सम्पन्न गराउन कतिपय अवस्थामा प्रधानमन्त्री कार्यालयकै पहलकदमी चाहिन्छ । खासमा जग्गा अधिग्रहणको विषय यही आर्थिक वर्षमा टुङ्गाउन पर्छ । कानुन बमोजिम तोकिएपछि मनासिव क्षतिपूर्ति दिन, यही आर्थिक वर्षको बजेटमा पुग्दो रकम विनियोजनको व्यवस्था प्रधानमन्त्रीले गर्न लगाउनै पर्छ ।

३. संघीय सरकारको निश्चित समयभित्र गर्ने भनिएको कामको अनुगमन गर्न र आवश्यक पर्दा सहजीकरणसमेत गर्न काठमाडौँ, धादिङ र नुवाकोटका सांसदहरूको अनुगमन, सहजीकरण समिति प्रस्तावित गरेका छौँ ।

यो समितिले हरेक हप्ता बैठक बसी सहमतिमा भएको प्रत्येक बुँदाको कार्यन्वयन भए नभएको अनुगमन गर्ने छौँ, कहीँ अफ्ठ्यारो परेमा सहजीकरण गर्ने छौँ, काम नगर्ने निकायलाई झक्झकाएर काम गर्न बाध्य बनाउने छौँ । समस्या आएपछि तात्नेभन्दा समस्या नै आउन नदिने गरी काम गर्नु पर्ने छ ।

४. काठमाडौँ महानगरपालिकाले फोहोर प्रभावित क्षेत्रको लागि गर्ने भनी निर्दिष्ट गरिएको काम समयभित्र सम्पन्न गर्ने नै छ । कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकारभन्दा बाहिरको विषय भएकाले अन्य सम्बन्धित निकायले काठमाडौँ महानगरलाई सम्पूर्ण साथ दिनुपर्छ ।

५. फोहोर पठाउने अन्य सम्पूर्ण स्थानीय तहले पनि काठमाडौँ महानगरसँग निरन्तर समन्वय गरेर काम गर्न आवश्यक छ ।

६. कामनपाले श्रावण १ गतेबाट स्रोतमै छुट्याइएको फोहोर मात्र संकलन गर्ने भनेको छ । सम्पूर्ण महानगरबासीले साथ दिएर यो अभियानलाई सार्थक बनाउनु पर्छ ।

कामनपाका सबै वडाले किन्तुपरन्तु केही नभनी यो अभियानलाई सफल बनाउन असार महिनाभरि आफ्नो बडाभित्र नगरवासीलाई सु(सुचित गर्ने लगायतको सम्पूर्ण तयारी गर्नुपर्छ ।

सम्बन्धित समाचार