शुक्रबार , कार्तिक २, २०८१

जातव्यवस्था विरुद्धको प्रतिरोध : एक हातमा गुलाफ, अर्को हातमा मसाल

image

Photo by: Himal Darpan

काठमाडौं । ‘जातव्यवस्था विरुद्धको प्रतिरोध दिवस’का दिन काठमाडौंको माइतीघरमा आभा फर क्रियटिभिटीले ‘पर्फमेन्स आर्ट’ गरेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८, सोतीमा नवराज विक सहित ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डका पीडितलाई न्याय दिने माग सहित जातीय सत्ताको विरोधमा आभा फर क्रियटीभिटीले ‘पर्फमेन्स आर्ट’ गरेको हो ।

aabha for crativity

एक हातमा गुलाफ, अर्को हातमा मसाल समाती उभिएका कलाकारहरूले नदिको प्रतिबिम्ब स्वरूप निलो रंग पोतेका थिए भने रातो रंगलाई प्रेम र क्रान्तिको बिम्बको रुपमा दर्शाएका थिए ।

‘मौन रहनु जातियतावादलाई समर्थन गर्नु हो’ भनि दलित अधिकारको सुनिश्चितता एवं जातीय विभेदको अन्त्यका खातिर पर्फमेन्स गरिएको आभा फर क्रियटिभिटीले बताएको छ । पर्फमेन्समा रसिक राज, राजु झल्लु प्रसाद, अन्शु खनाल, सुरज पराजुली, ईश्वर मैनाली, मिम बहादुर परियार, अस्मिता निरौला, कपिल मौन, राजु उवरकोटी, इशा खनाल, युनिसा खनालको सहभागिता रहेको थियो ।

performance art

यस अगाडि समूहले ‘लोकतन्त्र मार्च’मा ‘खबरदार’, सबैखाले ‘प्रतिगमन’ विरुद्ध मार्चपास सहित शव यात्रा, निर्मलाका लागि न्याय लगायतका शिर्षकमा पर्फेमेन्स आर्ट गरेको छ ।

aabha for creativity

आफूमा भएका भावना, सामाजका विभिन्न घटना, कुण्ठा, रिसजस्ता विषयवस्तुलाई शारीरिक हाउभाउसँगै रंग,  कागज आदि प्रयोग गरेर प्रस्तुत गर्ने कलालाई पर्फमेन्स आर्ट भनिने संस्थाका अध्यक्ष रसिक राज बताउँछन् । “नाटकलाई पुनः प्रस्तुत गरिन्छ । तर, पर्फमेन्स आर्टलाई ठाउँअनुसार फरक–फरक रूपमा प्रस्तुत गरिन्छ”, उनी अगाडि भन्छन्, “पर्फम गर्दागर्दै कलाकारले विषयवस्तुमा केन्द्रित रहेर आफ्नो अभिनयलाई परिवर्तन गर्न पनि सक्छन् । आफ्नो शरीरलाई नै कुनै क्यानभासको रूपमा प्रयोग गर्नु नै पर्फमेन्स आर्ट हो ।”

aabha for crativity

देशभर विरोधका कार्यक्रम :

देशका विभिन्न ठाउँबाट यस घटनाको विरोधमा विभिन्न कार्यक्रमहरू गरिएका छन् । दलित समुदायमाथि भएको त्यस प्रकारको गम्भीर सामुहिक हत्या (नरसंहार)को सत्यतथ्य बाहिर ल्याउन, अपराधीहरुलाई कारबाही गराउन र पीडितको न्याय सुनिश्चित गर्न सरकारलाई जवाफदेही बनाउने उद्देश्यले कर्णाली थिएटरको संयोजनमा प्रतिरोध जनअधिकार आन्दोलन र बृहत् नागरिक आन्दोलनले संयुक्तरुपमा भेरी प्रतिरोध मार्च गरेको छ ।

भेरी प्रतिरोध मार्च

मल्ल थरकी युवतीसंगको प्रेम गरेको कारण नवराज लगाएत ६ जना युवाहरुको सामुहिक हत्या भएको थियो । घटनाका पीडितले अझै पनि न्याय पाएका छैनन् । जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विश्वकर्मा र रुकुम पश्चिम सोतीकी एक मल्ल थरकी किशोरीबीच प्रेम सम्बन्ध थिए । ती किशोरीलाई भगाएर विहे गर्न गएका नवराज र उनका साथीहरूको २०७७ जेठ १० हत्या गरि भेरीमा बगाएको थियो । ज्यान गुमाउनेमा नवराज सहित लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाही थिए । उत्त घटनामा नवराजका १२ जना साथी समेत घाइते भएका थिए ।

23932

सम्बन्धित समाचार