शुक्रबार , अषोज ४, २०८१

सडक कालोपत्रे गर्नु, ढल हाल्नु मात्र विकास होइन- विनोद चालिसे

image

काठमाडौं- नेपाली कांग्रेसबाट बुढानीलकण्ठ नगरपालिकाको मेयर पदको उम्मेदवार विनोद चालिसे घरदैलो कार्यक्रम गरिरहेका छन् । स्थानीय तह निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवा बस्ने टोल र कांग्रेसकै युवा नेता गगन थापाको निर्वाचन क्षेत्रमा पर्ने यस नगरपालिकामा चालिसेप्रति स्थानीय मतदाताहरु बढी आशावादी देखिन्छन् ।

आफ्नो उम्मेदवारीले वडामा बुद्धिजीवीदेखि युवा मतदाता समेत उत्साहित भएको चालिसे बताउँछन् । कवि हृदयका चालिसे भन्छन्, ‘वडामा घरदैलो अभियान गरिरहँदा मेरो उम्मेदवारीको पक्षमा सकारात्मक माहोल देखिएको छ । मैले जित्छु भन्ने विश्वास वडावासीले दिलाउनु भएको छ ।’  उनले अगाडि थपे, ““व्यवस्थित सहर, जीवन्त नगर, समृद्ध बूढानीलकण्ठ हाम्रो रहर भन्ने नाराका साथ हामी जनताको घरदैलो अभियानमा छौं । हाम्रो नमुना बूढानीलकण्ठ अभियानमा जनलहर देखिएको छ ।”

चालिसेले बूढानीलकण्ठमा प्रशस्त समस्या भए पनि त्यसलाई अवसरका रुपमा लिनुपर्ने बताए । उनले भने, “कर प्रणाली व्यवस्थित छैन, जग्गा प्लटिङका नाममा जथाभाबी भइरहेको छ । हामी यहाँ रहेका हरेक चुनौतीलाई अवसरका रुपमा लिएर अघि बढ्नुपर्छ । विगतको स्थानीय सरकार प्रक्रियामुखी भयो तर परिणाममुखी भएन । सडक कालोपत्रे गर्नु, ढल हाल्नु मात्र विकास होइन । विकासका बहुआयाम हुन्छन् । सामाजिक, आर्थिक, मानवीय विकास पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने सरकारले बुझेन ।”

बूढानीलकण्ठमा गठबन्धन नभए पनि कांग्रेसले जित्ने आधारहरु भएको उनले बताए । उनले भने, “स्थानीय आवश्यकता हेरेर गठबन्धन गर्ने केन्द्रको नीति हो । बूढानीलकण्ठका केही वडामा मात्र गठबन्धन भएको छ । गठबन्धन नभए पनि जनताको बीचमा आफ्ना एजेन्डा लगेर जित्न सक्षम छौं । हामीले यस पटक जित्ने आधारहरु प्रशस्तै छन् । कोभिडका बेला हामीले साथ दिएका थियौं । सदैव जनताको सुखदुःखमा साथै छौं ।”

सम्बन्धित समाचार