बुधबार , अषोज २, २०८१

जीवन र मृत्यु प्रवृत्ति 

आत्मरक्षाको लागि लड्नु, बाच्नको लागि चेतनाको स्तर बढाउनु, जिजीविषाहरूलाई कलात्मक डङ्गमा प्रस्तुत गर्नु इत्यादि हामी भित्रको जिउने चाहनाहरू हुन् ।

image

अस्ट्रियाली मनोचिकित्सक सिग्मन्ड फ्रायडको मानव सभ्यताप्रति निराशाजनक दृष्टिकोण थियो। उनले मानिसलाई जहिल्यै पनि विरोधाभासमा बाचिरहेको देखे। उनले मनको संरचनालाई आकारात्मक र गत्यात्मक दुवै ढङ्गमा देखाएका छन्। उनको अनुसार मानिसको अहम् ले इद(id) मा रहेको आग्रगशील, अतार्किक, असामाजिक, उच्छृङ्खल र अनैतिक पक्ष र पराहम् अथवा (super ego) मा रहेको नैतिक र आदर्श पक्ष बिच सन्तुलन खोजिरहन्छ। इदलाई जैविक पक्ष, अहम् लाई मानवीय पक्ष तथा पराहम् लाई सामाजिक पक्षसँग सम्बद्ध मानिन्छ।

उनको विचारमा धर्मग्रन्थहरू केबल सामाजिक र प्राकृतिक घटना बुझ्ने सङ्घर्षमा सृजना गरिएका भ्रमहरू मात्र हुन् जसले भक्तहरूमा केही हदसम्म मानसिक रोगको जोखिमबाट उसलाई बचाउँछ किनकि सार्वभौमिक न्युरोसिस(neurosis) ग्रहण गर्दा  व्यक्तिगत न्युरोसिसलाई लुकाउन सहज बनाउँछ। तर संस्कृतिका नियमहरूको उत्प्रेरकको रूपमा हाम्रो यहीँ असामाजिक र वाध्यात्मक प्रवृत्तिहरूले विशेष भूमिका खेलेका हुन्छन्। त्यसैले मनोविश्लेषण गर्ने प्रक्रियामा कर्ताको धार्मिक मान्यताहरूले पनि उसको दमित भावनाहरूलाई बुझ्न सहयोग गर्छ।

कला, साहित्य, समालोचना र अन्य विविध क्षेत्र पनि कुनै न कुनै मनोविज्ञानमा आधारित हुन्छ। मानव मनका मातृरति (oedipus) र पितृरति (electra) जस्ता मनोवृत्ति एवं प्रवृत्तिहरूको चित्रण साहित्य र अन्य क्षेत्रमा प्राचीनकालदेखि निरन्तर हुँदै आएको देखिन्छ। फ्रायडको मनोविश्लेषणात्मक सिद्धान्तले प्रत्येक कृतिलाई सर्जकको व्यक्तित्व र मानसिक अवस्थासँग जोडेर बुझ्न सिकाउँछ र साथै पाठकमा पर्ने मनोवैज्ञानिक असरको पनि अध्ययन गर्छ । नेपाली साहित्यमा विशेषतः बि.पी कोइराला, पारिजात, विजय मल्ल, प्रेमा शाहका लेखहरूलाई व्याख्या गर्न फ्रायडका मनोवैज्ञानिक सिद्धान्तहरू प्रयोग गरेको देखिन्छ।

जब प्रथम विश्व युद्धका सैनिकहरू PTSD (पोस्ट ट्रमटिक सिस्ट्रर्स डिस्अडर) लिएर फ्रायड कहाँ आएका थिए, उनले महसुस गरे कि मानिसहरू केबल आनन्दतर्फ मात्र उन्मुख हुँदैनन् । ती केबल आफ्नो इच्छा पूर्तिको लागि विभिन्न तरिकाहरू अपनाउँदै वातावरणलाई आफू अनुकूल ढाल्न खोज्दैनन् । ती सैनिकहरूको अन्तरमनमा दबिएका विगतका दुर्घटना र आघातहरु समकालीन परिप्रेक्ष्यमा पनि पुन: अनुभव भइरहन्छ । यहीँ घटनाबाट प्रेरित फ्राइडले आफ्नो जीवन प्रवृत्तिको सिद्धान्तसँग मृत्यु प्रवृत्ति पनि जोडेका थिए । हामी यी दुवै आधारभूत प्रवृत्तिलाई चिन्छौँ जो आ-आफ्नै लक्ष्यमा हिँडिरहन्छन् ।

जीवन प्रवृत्ति( इरोस) मा बाच्नको लागि चाहिने आधारभूत आवश्यकताहरू समावेश गरिएको छ । जसअन्तर्गत यौन प्रवृत्ति, बाच्ने इच्छा, तिर्खा र भोक इत्यादि पर्दछ । यी कुराहरू मानव जीवनको संरक्षण र परिचालनको लागि आवश्यक छन् । मानिसहरू बिच रहने सद्भावना, सहयोग र साथ पनि यसमा पर्दछ। आत्मरक्षाको लागि लड्नु, बाच्नको लागि चेतनाको स्तर बढाउनु, जिजीविषाहरूलाई कलात्मक डङ्गमा प्रस्तुत गर्नु इत्यादि हामी भित्रको जिउने चाहनाहरू हुन् । डार्विनको `survival instinct´ सिद्धान्तसँग पनि यसका अनेक विशेषताहरू मिलेको देखिन्छ । यसलाई फ्रायडले सृजनात्मक प्रवृत्ति पनि भनेका छन् ।

मृत्यु प्रवृत्ति 

मानिसको मनमा रहेको यो यस्तो शक्ति वा ड्इव (drive) हो जसले जीवित प्राणीलाई पुनः निर्जीव अथवा ( inorganic) अवस्था तर्फ उन्मुख गराउने प्रयास गर्छ । यो एक घातक द्रइभ हो र यसको मुख्य उद्देश्य अराजकता, विघटन वा विनाश हो । यो मृत्यु प्रेरक छ र केही हदसम्म हाम्रो अहम् सँग सम्बन्धित छ । यसको बाहिरी स्वरूप विशेषतः  परपीडक (sadism) चरित्र भएको आउँछ । जर्मन दार्शनिक आर्थर शोपेनहाउरको निराशावादले उनलाई इच्छको पूर्ति  नकारात्मक र अनैतिक कुरो हो र जीवनले खुसी भन्दा बढी दुःख उत्पन्न गर्छ भन्ने विश्वास भयो र त्यसै अनुरूप उनको विचारहरू निर्माण हुँदै गए । फ्रायडका यो सिद्धान्तले उनैबाट थप प्राथमिकता पायो । उनको अनुसार मृत्यु वृत्तिको एक अंश सधैँ बाह्य संसारतिर मोडिएको हुन्छ र आक्रामक र हिंस्रक प्रवृत्तिको रूपमा प्रकाशमा आउँछ । प्रत्येक मानिसमा रहेको दमित आपराधिक मानसिक यसको उदाहरण हो । हामीले लगातार विवेक, कला र संस्कृतिको आधार बनाएर यसलाई नियन्त्रण गरिरहेका हुन्छौँ वा सूक्ष्म रूपमा प्रस्तुत गरिरहेका हुन्छौँ ।

सम्बन्धित समाचार