बिहिबार , कार्तिक २९, २०८१

पूर्वी नवलपरासीमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

image

काठमाडौं । पूर्वी नवलपरासीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । हुप्सेकोट गाउँपालिकामा अध्यक्षका लागि कांग्रेसकी उम्मेदवार लक्ष्मीदेवी पाण्डे र उपाध्यक्ष उम्मेदवार पूर्णसिंह रानामाथि एमाले कार्यकर्ताले मंगलबार आक्रमण गरेको आरोप कांग्रेसको छ । लक्ष्मीदेवी निवर्तमान गाउँपालिका अध्यक्ष पनि हुन् ।

५०/६० वटा मोटरसाइकल र केही संख्यामा गाडीमा आएका एमाले कार्यकर्ताले उम्मेदवारमाथि आक्रमण गरेको कांग्रेसको दाबी छ । झडपमा परेर कांग्रेस र एमालेतर्फ गरी ६ जना घाइते छन् । अध्यक्ष उम्मेदवार पाण्डे र उपाध्यक्ष उम्मेदवार रानाको चितवनमा उपचार भइरहेको छ ।

यस्तै उम्मेदवार पाण्डे सवार स्कारपियो गाडीका सीसा पनि फुटाइदिएका छन् ।

वडा नम्बर ३ मा चुनावी प्रचारको कार्यक्रम सकेर फर्कने क्रममा एमाले कार्यकर्ताहरूले आफ्ना उम्मेदवारहरूमाथि लाठी, खुकुरी लगायतले आक्रमण भएको कांग्रेस नवलपरासी पूर्वले जनाएको छ ।

एमालेले भने कांग्रेसले आफ्ना कार्यकर्तमाथि आक्रमण गरेको दाबी गरेको छ ।

प्रहरीले भने कांग्रेस र एमाले कार्यकर्ता जम्काभेट हुँदा भनाभन भएपछि झडप भएको पाइएको बताएको छ । एमालेका तीन जना कार्यकर्ताको मध्यविन्दू अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार