बिहिबार , कार्तिक २९, २०८१

‘बेनीघाट रोराङ-१ को विकास र समृद्धिको लागि मेरो उम्मेदवारी’- जीवन सिं तामाङ

जहाँसम्म मेरो उम्मेदवारी किन र केका लागि भन्ने प्रश्न छ, मेरो उम्मेदवारी बेनीघाट रोराङ १ को विकास र समृद्धिको लागि नै हो ।

image

स्थानीय तहको निर्वाचन आउन जम्मा ११ दिन बाँकी छ । आगामी वैशाख ३० मा देशभरी नै एकै दिनमा निर्वाचन हुँदै छ । मतदान गर्ने दिन नजिकिएसँगै देशमा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरू घर घरमा गएर भोट माग्न थालेका छन् । गाउँ घरका चौतारीमा होस् या पानी धारा, सहरका होटेल रेस्टुरेन्ट होस् या बजारका चिया पसल, सबै ठाउँमा चुनावकै चर्चा छ ।

स्थानीय तहको नेतृत्व गर्नका लागि निर्वाचनमा होमिँदै गर्दा उम्मेदवारहरूको एजेन्डा के छन् भन्ने चासोको विषय हो । उनीहरूको एजेन्डा कतिको सान्दर्भिक छ भन्ने नै मुख्य विषय हो । मतदान गर्नुअघि उनीहरूकाे एजेन्डा कतिकाे सान्दर्भिक छ भन्ने बुझ्न जरूरी पनि छ । त्यसैले हामीले स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका व्यक्तिहरूसँग उनीहरूकाे एजेन्डा के छन् भनेर प्रश्न गर्ने गरेका छाैँ ।

प्रस्तुत छ, धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार जीवन सिं तामाङसँग वडाको विकासका लागि के कस्ता योजनाहरू छन् भन्ने विषयमा सहकर्मी चन्द्र तामाङले गरेको कुराकानीको सम्पादित अंश:

१. बेनीघाट रोराङ-१ मा नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवारी दिनुभएको छ, तपाईँको उम्मेदवारी किन ?

-मैले आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बेनीघाट रोराङ १ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएको छु । जहाँसम्म मेरो उम्मेदवारी किन र केका लागि भन्ने प्रश्न छ, मेरो उम्मेदवारी बेनीघाट रोराङ १ को विकास र समृद्धिको लागि नै हो । यो वडा (बेनीघाट रोराङ १) नेपालको सङ्घीय राजधानी काठमाडौंबाट नजिक भएर पनि मनाङ मुस्ताङ भन्दा पनि विकट छ । यहाँका जनताले विकासको स्वाद चाख्न पाएकै छैनन् । पृथ्वी राजमार्ग नजिक भएर पनि सडकको स्तरोन्नति नहुँदा यहाँको उत्पादन बजारसम्म पुर्‍याउन कठिन छ । बिरामी भयो भने बिच बाटोमै मर्न विवश छन् यहाँका जनता । र अर्को कुरा हालसम्म यो वडामा विद्युतिकरण भएको छैन । सङ्घीय राजधानीसँग जोडिएको जिल्लाको यति नजिकको बस्ती अझै अन्धकार छ । तर अहिले नेपाली कांग्रेसकै पहलमा विद्युतिकरण अगाडि बढ्दै छ । यसलाई पनि अन्य राजनीतिक दलहरूले अवरोध सिर्जना गरिरहेका छन् । यसलाई पुरा गर्नका लागि मेरो उम्मेदवारी हो ।

२. यो वडाको विकासका लागि तपाईँका योजनाहरू के के छन् ?

-बाटोघाटोको दुरावस्था, विद्युतिकरण नहुँदा अन्धकार लगायतका कुराहरू मैले अघि नै चर्चा गरेँ । हामीले यो वडाको विकास र रूपान्तरण गर्न केही योजनाहरू अघि सारेका छौँ ।

सडककाे स्तराेन्नती

सडकको स्तरोन्नति हाम्रो पहिलो प्राथमिकता हो, सडक विकासको पहिलो पूर्वाधार हो । सडकसँग समुदायको विकास र समृद्धिको सबै पक्ष जोडिएको हुन्छ । सजिलोसँग आवात जावत गर्न मात्रै होइन, यहाँको उत्पादन बजार पुर्याउन सडक नभई हुँदैन । बिरामी भयो भने समयमा उपचार पाउन सडक नै राम्रो हुनु जरुरी छ । भनिन्छ नि, सडकसँग विकास आउँछ र सडकको स्तरले समाजको स्तर निर्धारण हुन्छ । सडक राम्रो भयो भने मात्रै अन्य विकासका कार्यहरू गर्न सहज हुन्छ । त्यसैले सडकलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ ।

कृषिमा आधुनिकीकरण र व्यावसायीकरण

हामीले दोस्रोमा कृषिलाई राखेका छौँ । कृषिलाई आधुनिकीकरण नगरी उत्पादन बढाउन सकिँदैन । परम्परागत गुजारा प्रणालीमा आधारित कृषि प्रणालीका कारण यहाँका जनताले कृषिबाट लाभ लिन सकेका छैनन् । यहाँका समुदायले कृषि बाहेक अन्य पेसा अङ्गालेका छैनन् । कृषिलाई आधुनिकीकरण गरी उत्पादकत्व नबढाईकन वडाका बासिन्दाको आर्थिक स्तर माथि उठ्ने छैन । त्यसैले कृषिलाई हाम्रो टोल (सुन्दरनागी, बाँसकर्ख)मा व्यावसायिक बनाउने प्रयास गरिसकेका छौँ । अब वडा भरी नै यो अभियान लागु गर्ने योजनामा छौँ । हाम्रो वडाको माटो र हावा पानीमा पनि विविधता छ। सम्बन्धित ठाउँको हावापानी माटोको किसिम र पानीको उपलब्धता हेरेर त्यस अनुसारको उत्पादनमा ध्यान दिनेछौँ।

खानेपानी – एक घर एक धारा

तेस्रो प्राथमिकतामा हामीले खानेपानीलाई राखेका छौँ । यहाँका ब्रोम्दिङ, च्यात्रा, लवाङ, नाम्चिराङ लगायत गाउँका बासिन्दाले अहिले पनि खानेपानीको चरम अभाव भोगिरहेका छन् । उनीहरू पोखरीको पानी पिउन बाध्य छन् । त्यसैले हामीले आगामी तीन वर्षभित्र वडाका सबै घरघरमा खानेपानी पुर्‍याउने योजना बनाएका छौँ । खुसीको कुरा के छ भने हामीले हाम्रो नेतृत्वमा सरकार नबन्दै खानेपानीको योजनालाई अगाडि बढाइसकेका छौँ । हाम्रै पहलमा धुसाराङका १७ घरमा पानी पुर्‍याइसकेका छौँ । घर घरमा २४सै घण्टा पानी आउँछ तर धारा चाहिँ बनाउने क्रममा रहेको छ । त्यसै गरी ब्रोम्दिङ र ग्याबा टोलमा पनि खानेपानीको काम अगाडि बढेको छ । यो योजना निरन्तर जारी रहन्छ । ब्रोम्दिङ र ग्याबाटोलको सम्पन्न भएपछि च्यात्रा, नाम्चिराङ र लवाङमा योजना अगाडि बढ्ने छ । यो वडाभरिकै एक घर एक धारा अभियान हो । धादिङ खानेपानी डिभिजनले यो काम गर्दै छ । हामीले सम्भवतः दुई बर्षभित्र घर घरमा पानी पुर्‍याउने छौँ ।

विद्युतिकरण

हामीले विद्युतिकरणलाई अर्को महत्त्वपूर्ण प्राथमिकतामा राखेका छौँ । मैले अगाडि नै चर्चा गरेँ कि राजधानी र राजमार्गको यति नजिकको बस्ती अझै अन्धकार छ । यो अघिल्लो सरकारका लागि निकै लज्जास्पद कुरा हो । विद्युतिकरणलाई हामीले अत्यन्तै महत्त्वका प्राथमिकता दिएका छौँ । यसमा पनि खुसीको कुरा के छ भने हामीले हाम्रो नेतृत्वमा सरकार नबन्दैमा विद्युतिकरणलाई अगाडि बढाएका छौँ । नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीको विशेष पहलमा हामीले यस वडामा विद्युतिकरणलाई अगाडि बढाइसकेका छौँ । पोल गाड्ने, तार टाँग्ने काम हुँदै छ । अन्य राजनीतिक दलका साथीहरूले अवरोध सिर्जना नगरेको भए यतिबेला वडामा बत्ती बलिसकेको हुने थियो । तर अवरोधका बाबजुद पनि यसलाई पनि हमाले यथाशिघ्र पुरा गर्ने छौँ । विद्युतिकरणले वडाको अन्धकार हटाएर उज्यालो मात्रै ल्याउने छैन, अन्य उद्योग व्यवसाय र रोजगारीको सम्भावना पनि बढाउने छ ।

शैक्षिक सुधार

वास्तवमा भन्ने हो भने वडाको शिक्षा क्षेत्र अहिले लथालिङ्ग नै छ । शैक्षिक गुणस्तर खस्केको छ । वडाध्यक्ष आफैँ तीन चार वटा विद्यालयको अध्यक्ष बस्ने व्यवस्थाका कारण शिक्षा क्षेत्रमा चरम राजनीतिकरण भएको छ । वडाध्यक्ष नै तीन चार वटा विद्यालयको अध्यक्ष भएर काम गर्‍यो। राम्रो संग हेरविचार गर्न सकेनन् । शिक्षक, व्यवस्थापन समिति र अभिभावक बिच समन्वय भएन। समय समयमा जनप्रतिनिधिले निरीक्षण नगर्दा विद्यालयका शिक्षक, कर्मचारी र अभिभावक बिचको दुरी बढेको छ । सबै आ आफ्नै खुसीले चलेका छन् । हामीले यस्तो अवस्थाको अन्त्य गर्ने र विद्यालयलाई आधुनिक प्रविधिमैत्री बनाएर अन्तर्राष्ट्रिय मापदण्डको बनाउने खाका समेत तयार पारेका छौँ ।

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने

हामीले अर्को मुख्य प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई राखेका छौँ । अहिले वडामा सामान्य स्वास्थ्य क्लिनिक छ । यसको सेवा थप विस्तार गर्ने र प्रभावकारी पनि बनाउने योजना बनाएका छौँ ।

वडालाई पर्यटकीय क्षेत्रकाे रूपमा विकास गर्ने

हाम्रो वडा पर्यटकीय हिसाबले महत्त्वपूर्ण छ । प्राकृतिक सुन्दरताले युक्त छ । यस वडालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने र स्थानीयको आय आर्जनमा टेवा पुर्‍याउने योजना बनाएका छौँ ।

धर्म संस्कृति, मेला पर्व, जात्राहरूकाे संरक्षण गर्ने

यस वडामा तामाङ र सीमान्तकृत चेपाङ समुदायको बसोबास छ । दुवै समुदायको धर्म संस्कार संस्कृतिको संरक्षणका लागि विशेष पहल गर्नेछौँ । लोप हुँदै गएका यहाँका जात्रा मेलाहरूको संरक्षणका लागि कार्यक्रमहरू ल्याउनेछौँ । यहाँका तामाङ समुदायको संस्कृतिका धरोहर ताम्बा, लामा र बोम्वोको संरक्षणका लागि कार्यक्रम ल्याउनेछौँ ।

युवाहरूको खेलकुद र कलाको विकासको लागि विशेष प्राथमिकता दिनेछौँ । यो वडाको समग्र विकास र समृद्धिका लागि सबै कार्यहरू अगाडि बढाउने छौँ ।

३. तपाँई अघिल्लो निर्वाचनमा पनि उम्मेदवार बन्नु भएको थियो, यद्यपि थोरै मत (१६ मत) ले पराजित हुनु भयो । यसबिचमा तपाईँले के के गर्नुभयो ?

-राजनीतिक नेतृत्व चुनावमा पराजित हुँदा हार खायो भने समाज पछाडि पर्ने रहेछ । हामी चुनाव हारे पनि त्यसलाई स्विकारेर काम गरिरह्यौँ।
यस बिचमा गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु भयो । त्यसको सदस्य भएर काम गर्न पाए । त्यसबाट किसानलाई हाते ट्याक्टर वितरण गरे, पोखरीको लागि प्लास्टिक, हाइटेक नर्सरीका लागि पनि प्लास्टिक वितरण गर्याैँ। यहाँको उत्पादनलाई प्याकिङ गरेर बजार पठाउने व्यवस्था गरेका छौँ। त्यसको संयोजन बाँसखर्क कृषि सहकारी संस्थाले गरेको छ। म त्यसको अध्यक्ष पनि हो। मैले अघि नै उल्लेख गरे, म अघिल्लो निर्वाचनमा पराजित भए पनि वडाको विकासका लागि निरन्तर काम गरिरहेँ । त्यसैको परिणामस्वरूप आज वडामा वृहत खानेपानीको योजना कार्यान्वयनको क्रममा छ । विद्युतिकरणको काम पनि कार्यान्वयनकै चरणमा छ । कृषिलाई आधुनिकीकरण गर्ने अभियान अघि बढेको छ । समुदायको आयआर्जन बढ्न थालेको छ । अन्य कुराहरूमा मेरो बल-बुताले भ्याएको गरेको छु र गरिरहेको छु ।

४. अघिल्लो वडा सरकारको पाँच वर्षको कार्यकाललाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

वडा सरकारले खासै उपलब्धिमूलक काम गर्न सकेन। विकासका पूर्वाधारहरूमा कुनै पनि क्षेत्रमा उल्लेख्य काम गरेको छैन । हामीले काम गर्न खोज्दा पनि सिफारिस दिने काम मात्रै गर्‍यो। काम गर्न खोज्दा ऊर्जा दिने काम गरेन। किसान र कृषिको पक्षमा खासै चासो देखाएन। बाटो एक टुक्रा पनि ढलान गरेको छैन। पानी पर्ने बित्तिकै गाडी चल्दैन। किसानको लागि केही पनि गर्न सकेन, एक प्याकेट बीउ पनि अनुदान ल्याएर दिन सकेन ।

शिक्षा क्षेत्रलाई हेर्दा दुई वटा विद्यालयमा तह बढाए पनि शैक्षिक गुणस्तर खस्केको छ। लथालिङ्ग नै छ। स्वास्थ्य क्षेत्र हेर्दा क्लिनिकको भवन बनाए पनि सेवालाई गुणस्तरीय बनाएको देखिँदैन। अन्य विकासका पूर्वाधारहरू सञ्चार, विद्युत्, खानेपानी लगायत क्षेत्रमा केही पनि गरेको छैन।

समाजको संस्कृति जस्तो, जात्रा, मेला, चाड पर्वहरूलाई व्यवस्थित बनाउने र संरक्षण गर्ने कुरामा पनि सरकार चुकेको छ जबकि तिनको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व हो ।

अघिल्लो सरकारले वडाको विकासका लागि काम गर्न नसकेकै कारण मैले पुन उम्मेदवारी दिएको हुँ ।

५. अघिल्लो ०७४ को चुनावमा तपाईँ थोरै मतले पराजित हुनु भएको थियो, यस पटकको चुनावमा कस्तो छ अवस्था ? चुनाव जितिन्छ ?

-यस पटक हामीले जित्छौँ । जित्ने आधार बनाएका छौँ । जित्ने आधार भनेको हामीले गरेको काम हो । साँच्चै भन्ने हो भने पाँच वर्षमा वडा सरकारले गर्न नसकेको काम हामीले गरेका छौँ । खानेपानी, विद्यृतिकरण, कृषिमा आधुनिकीकरण लगायतका योजनाहरू हाम्रै पहलमा कार्यान्वयनको क्रममा छ । हामीले फोस्रा नारा लगाएका छैनौँ । कम्युनिस्टहरूले जस्तो झुटा आश्वासन हामी बाँड्दैनौँ । हामी कांग्रेसलाई त्यो सोभनीय पनि हुँदैन । मैले माथि जति योजनाहरू उल्लेख गरेँ, ती सबै कार्यान्वयन गर्न हामी सक्षम छौँ । तपाईँ आफै भन्नुस् न, हामीले भनेका वृहत् खानेपानी, विद्युतिकरण, कृषिमा आधुनिकीकरण लगायतका योजनाहरू त कार्यान्वयनमै गइसक्यो । अरू पनि कार्यान्वयन हुनेछ ।

६. पाँच वर्षमा पार्टीमा जनमत बढेको आधार के छ ?

-धेरै बढेको छ । अघि नै भने हामी गफ लगाउँदैनौँ । यस अघि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडाध्यक्षमा उम्मेदवार बन्नु भएका चन्द्र तामाङ उहाँको सम्पूर्ण टिमसहित हामीसँग आउनु भएको छ । उहाँले उक्त चुनावमा ३२ मत ल्याउनु भएको थियो । त्यसै गरी राप्रपाको केन्द्रीय सदस्य श्याम लामा पनि हामी (कांग्रेस) सँग नै हुनुहुन्छ । उहाँ नेपाली कांग्रेसको बागमती प्रदेश सदस्य बन्नु भएको छ । उहाँको अभिभावकत्व हामीले पाएका छौँ ।

त्यसै गरी अघिल्लो चुनावमा माओवादीलाई जिताउन मुख्य भूमिका खेल्नु भएका बाबुलाल तामाङ, चन्द्र तामाङ, चन्द्रमान तामाङ, एमालेमा सशक्त भूमिका खेल्नु भएका किरण तामाङ, दिपक तामाङ जस्तो युवाहरू हामीसँगै जोडिनु भएको छ । बाबुलाल तामाङ अहिले वडा सदस्यको उम्मेदवार पनि बन्नु भएको छ । त्यसैले हाम्रो मत बढेको छ । हामी जित्छौँ ।

७. अन्त्यमा वडाबासीहरूलाई के भन्न चाहनुहुन्छ ?

-मलाई थाहा छ मेराे वडाका सम्पूर्ण बासिन्दाहरूले मेराे कामलाई नजिकबाट नियाल्नु भएकाे छ। यस पटककाे चुनावमा मलाई मत दिनुहुनेछ । र जिताउनुहुनेछ । त्यसैले म धेरै बाेल्नुभन्दा पनि यहाँहरूकाे जीवनस्तरमा कसरी सुधार ल्याउन सकिन्छ भनेर लागि परेकाे छु । यस पटक मलाई मत दिनुहाेला। वडाकाे विकास र समृद्धिका लागि तपाईँहरूले मलाई मतदान गर्नुहाेला भन्न चाहन्छु । अन्त्यमा मेरा याेजनाहरू सबै माझ पुर्याउने अवसर दिनु भएकाेमा तपाईँ र हिमाल दर्पण परिवारप्रति विशेष आभार व्यक्त गर्दछु, धन्यवाद ।

सम्बन्धित समाचार