शुक्रबार , अषोज ४, २०८१

वरियता मिचेर सिंहलाई आईजीपी बनाएपछि अदालत जाने तयारीमा एआईजीद्वय पोख्रेल र थापा

image

काठमाडौं । सरकारले कनिष्ठ एआईजी धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि जेष्ठतामा अघि रहेका एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा न्यायका लागि सर्वोच्च अदालत जाने भएका छन् ।

अदालत जानका लागि आफूहरु कानुनी परामर्शमा रहेको उनीहरुले बताएका छन् । एआईजी पोखरेलले नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गर्दा इतिहासमै यस्तो अन्याय कहिल्यै नभएको बताए ।

‘नेपाल प्रहरीको आईजीपी नियुक्तिमा यति ठूलो अन्याय इतिहासमै कहिले पनि भएको थिएन, एकै मितिका प्रतिस्पर्धीमध्येबाट नियुक्ति गर्दा पनि पहिलो वरियतालाई गरिन्थ्यो, अहिले त १८ महिना र १० महिना सिनियरलाई पन्छाएर एक महिना अघि बढुवा भएकालाई नेतृत्वमा लगियो,’ एआईजी पोखरेलले भने, ‘आईजीपीमा बढुवा भएका व्यक्ति एआईजी बढुवा विरुद्धको मुद्दा खेपिरहेका व्यक्तिलाई आईजीपी नियुक्ति गरेर सरकारले प्रहरी संगठनमाथि प्रहार गरेको छ, यस विरुद्ध न्यायका लागि सम्मानित अदालत जान्छौं ।’

एआईजी सहकुल थापाले प्रहरी संगठनको मूल्यमान्यता र विधिरपद्धति जोगाइराख्न पनि अदालत जानुका विकल्प नभएको बताएका छन् ।

‘स्थापित मूल्यमान्यताभन्दा बाहिर गएर सरकारले प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि यस विरुद्ध अदालत जानुको विकल्प छैन, न्यायका लागि पनि अदालत जान्छौं,’ उनले भने, ‘यसकै लागि कानुनी परामर्शमा हामी जुटेका छौं ।’

गृहमन्त्री बालकृष्ण खाँणले विश्वराज पाेख्रेललाइ आईजीपी बनाउन प्रस्ताव गरे पनि प्रधानमन्त्री शेर बहादुर देउवाकाे राेजाइमा धीरजप्रताप सिंह परेका हुन् ।

नेपाली कांग्रेसका नेता डा शेखर काेइरालाले प्रहरी संगठनमा देउवाले हस्तक्षेप गरेकाे  बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत देउवाले प्रहरी संगठनकाे विधि र पद्धतीलाइ मिचेर संगठनलाइ विवादमा ल्याउने काम गरेकाे बताएका छन् ।

सम्बन्धित समाचार