बुधबार , कार्तिक २८, २०८१

कन्यादान कि विवाह ?

मेरो टाउकोमा रहेको मेरो छोरीको पालनपोषणको जिम्मा अब तपाईँलाई सुम्पेँ । ददाति, ददाति, ददाति ।” अर्थात्, “मैले मेरो छोरी तपाईँलाई दिएँ, दिएँ, दिएँ ।"

image

Photo by: Himal Darpan

हिन्दू धर्ममा महिलालाई देवीको रूप मानिन्छ । जुन घर, समाजमा छोरीको इज्जत र मान हुँदैन, त्यहाँ दुःख र कष्टले वास गर्छ भन्ने भाष्य स्थापित छ । यही भाष्यकै कारण समाजले धर्म, संस्कृति, मूल्यमान्यताको नाममा महिलालाई पटकपटक ‘ओब्जेक्टिफाई (वस्तुकरण) गर्दै आइरहेको छ । एउटा महिलालाई देवीको रूप मान्ने सामाजिक संस्थाले उनीप्रति मानिसको व्यवहारसम्म गर्न सकेको छैन । 

एक्काइसौँ शताब्दी अर्थात् विज्ञानको युग, शिक्षा र चेतनशीलताको युग ! तर, हामीकहाँ व्याप्त रूढिवाद र परम्परावादीताले एक्काइसौँ शताब्दीका हामीलाई खिसी गरिरहेको छ । ‘यो’ या ‘त्यो बहाना’मा घिनलाग्दा र मर्यादाहीन कुराहरूलाई परम्पराको नाम दिएर महिला हिंसालाई प्रश्रय दिइरहेको छौँ । लैङ्गिक, सामाजिक तथा सांस्कृतिक मान्यताहरूले महिलालाई दोस्रो दर्जाको नागरिककै रूपमा प्रोटे गरिरहेकै छ ।

उदाहरणस्वरूप, दाइजो प्रथालाई लिन सकिन्छ । परम्परा धान्न र समाजमा ‘इज्जत बचाउने’ नाममा उपहारको नाम दिएर छोरीसँगै लाखौँ मूल्यको सामान पठाउने चलन रोकिएको छैन, झन् बढिरहेको छ । ‘दाइजो प्रथा गलत हो भन्नेहरू छोरी गुमाउनुपर्ने भयले अतिरिक्त गरगहना, जिन्सी, सवारी साधनलगायतका सामग्री हाकाहाकी ‘ओसारपसार’ गरिरहेका छन् ।

नेपालमा महिनावारी विभेद (छाउपडी प्रथा) को प्रभाव उसैगरी जरो गाँडेर बसेको छ । महिनावारी भएका महिलाहरूलाई भान्साघर, पँधेरो, मन्दिर लगायत विभिन्न ठाउँहरूमा प्रवेशमा निषेधिकरण अझै पनि व्याप्त छ । राजधानी र जिल्ला सदरमुकाम जस्ता ठाउँहरूमा महिनावारी भएका किशोरीहरूलाई गोठमा नै नराखिए पनि विभेदको शृङ्खलाहरू रोकिएको छैन । मार्यादित महिनावारी अभियन्ता राधा पौडेलका अनुसार, ‘महिनावारी बार्ने अभ्यास’ विश्वभर नै बरकरार छ । “सयमा ९३ वटा महिला हिंसाका घटना घरमै भइरहेको र त्यसमा पनि ८२ प्रतिशत घटना आफ्नै घरको पुरुष सदस्यबाट हुने गरेको राष्ट्रिय महिला आयोगको तथ्याङ्कले देखाइरहेको छ”, उनी भन्छिन् । 

इतिहासका विषयमा लेख्न रुचाउने सुजित मैनाली पितृसत्तात्मक समाजले महिलाको यौन जीवन र स्वतन्त्रतामा बन्देज लगाउनको लागि भनेर नै हरेक नियमहरू बनाएको बताउँछन् । “हिन्दु धर्ममा मात्र नभएर अन्यत्र पनि विभिन्न नाम दिएर महिलामाथि विभेद कायमै राखिएको छ । इसाई धर्ममा पनि किशोरीलाई पिता वा पिता समान व्यक्तिले दुलाहालाई ‘हेण्ड ओभर’ गर्ने चलन छ । उत्तर अफ्रिका र मध्यपूर्वी एसियाका देशहरूमा ‘फिमेल भजेइना म्युटेलेसन’ को चलन अझ देख्न सकिन्छ”, उनी भन्छन् । 

छोरीको पैतृक सम्पत्तिमा हक नलाग्ने र बिहेपछि आफ्नो आमाबुबाको घरमा पाहुनाको रूपमा हेरिने सामाजिक मान्यता महिलामाथि हुने विभेदलाई प्रशय दिइरहेको मैनालीको बुझाइ छ । महिलाहरूको यौन-जीवनलाई नियन्त्रित गरी उनीहरूलाई एक पुरुषप्रति निष्ठावती बनाउन विवाह-प्रथालाई महिलाको हकमा कठोर बनाइएको उनको टिप्पणी छ । (सती, पृ. ४८)

पुस्तक पढ्न रुचाउने नवीन तिवारीका अनुसार हरेक धार्मिक ग्रन्थहरूमा महिलाहरूलाई कुनै न कुनै रूपमा ‘इन्फेरिओर’ देखाउने गरिन्छ । “चाहे सीता होस् या पार्वती, भगवान्कै कालदेखि नै महिलालाई दोस्रो दर्जा दिँदै आइएको छ”, उनी अगाडि थप्छन्, “बाइबल पल्टाएर हेर्नुभयो भने पनि एडम र इभमध्ये इभ लाई एडमको करङबाट उत्पत्ति भएको भनिन्छ । यो भनेको महिलाहरूको अस्तित्व पुरुषमै सीमित राखेको हो नि, हैन र ?”

कन्यादान

महिलामाथि हुने विभेदका अनेकन् प्रचलनहरूमाथि प्रश्न उठिरहेता पनि कन्यादानमाथि खासै बहस भएको सुन्न पाइन्न । 

कन्यादानलाई सिधा सिधा उल्थ्याउने हो भने यसको अर्थ कन्याको दान अर्थात् छोरीको दान भनेर बुझिन्छ । धर्म विशेषज्ञहरूको अनुसार कन्यादान भनेको छोरीको दान नभएर उसको गोत्रको दान हो । ‘दान निर्जीव वस्तुको गरिन्छ, व्यक्तिको गरिँदैन’ तर, कन्यादानको निर्मित भाष्यले छोरी (व्यक्ति)लाई वस्तु बताई वस्तुको दानलाई निरन्तरता दिइरहेको छ ।

हिन्दु धर्मशास्त्रअनुसार दान कायिक, वाचिक र मानसिक गरी तीन प्रकारको हुन्छ । सङ्कल्पपूर्वक सुवर्ण सुन–चाँदी आदि दान दिनुलाई कायिक दान भनिन्छ । आफ्नो रक्षाका लागि जौ अभय दान दिनुलाई वाचिक दान भनिन्छ । यसैगरी, जप, ध्यान गरेर दिइने दानलाई मानसिक दान भन्ने गरिन्छ ।

“मैले मोक्ष प्राप्तिका लागि सम्पूर्ण देवीदेवता र मानवलाई साक्षी राखेर मेरी छोरी धर्मार्थ कार्यका लागि तपाईँलाई दान गरेँ, यसले कुनै अपराध गरी भने पनि यसलाई नत्याग्नुहोला । धर्मार्थ कामका लागि यसलाई सधैँ आफूसँगै राख्नुहोला । यो कन्यादान कार्यबाट भवगान्ले मलाई शान्ति दिउन् ।” 

माथि उल्लेखित शब्दहरू उच्चारण गर्दै एक बाबुले आफ्नो छोरीलाई वरको हातमा सुम्पिन्छन् । यसपश्चात् बाबु भन्छन्, “’ददाति, ददाति, ददाति ।’ अर्थात् “मैले मेरो छोरी तपाईँलाई दिएँ, दिएँ, दिएँ ।” हो, यसैलाई ‘कन्यादान’ भन्ने गरिन्छ । यद्यपि माथि उल्लेखित दानका प्रकारहरूमध्ये कन्यादान कुन प्रकारको दान हो भन्ने विषयमा कतै उल्लेख गरेको पाइँदैन ।

आफ्नो छोरी अरूलाई दान दिए आफ्नो स्वर्ग जाने बाटो खुल्ने, मोक्ष प्राप्त हुने विश्वास हिन्दु धर्ममा छ । ‘रजोधर्म’ अर्थात् प्रथम रजश्वला हुनुपूर्व कन्यादान गर्‍यो भने सबैभन्दा पुण्य प्राप्त हुन्छ भन्ने विश्वास यस समाजमा व्याप्त छ । स्वस्थानी व्रत कथाअनुसार सात वर्षीया गोमा कन्यालाई ७० वर्षीया वृद्ध शिव शर्मालाई दान गरेर दिइनु यही विश्वासको द्योतक हो ।

कन्यादान कहिलेदेखि सुरु भयो ?

अब यहीनेर प्रश्न उठ्छ, कन्यादान कहिलेदेखि सुरु भयो ? यस प्रश्नको उत्तर खोज्दै जाँदा हाम्रो यो तथ्यसँग साक्षात्कार हुन् पुग्दछ कि, वैदिक पुराणमा कन्यादानको उल्लेख  छैन । प्राचीनतम स्मृतिको रूपमा मान्यता प्राप्त मनुस्मृतिमा जब हामी आइपुग्छौँ, त्यहाँ कन्यादानको उल्लेख भेटिन्छ । मनुपाठको अनुसार, एक पुरुषको अभिभावकत्व एक महिलाको अस्तित्वको लागि अत्यावश्यक मानिन्छ । बिहे नहुँदासम्म बुबाको अभिभावकत्वमा बसेकी उनमा विवाहपश्चात् उनको पतिको अभिभावकत्व स्विकार्नुपर्ने बाध्यता आइपर्छ । 

छोरीको सानै उमेरमा विवाह गरिदिनाले उनको लालनपालनको अभिभारा उनको पति र पतिको परिवारलाई सुम्पनु तत्कालीन समाजको चारित्रिक विशेषता भएता पनि आजको समयमा कन्यादान कदाचित सान्दर्भिक छैन । अझ, बिहेमा दुलाहाको खुट्टा ढोगेर पैसा नदिएसम्म नउठ्ने होस वा मागे जति पैसा लिएर जुठो खुवाउने जस्ता बिहेका केही चलनहरूमा युवापुस्ता रमाइरहनु उदेकलाग्दो कुरा हो ।

वैदिक समयका कतिपय अभ्यासहरू प्रशंसनीय छन् तर, वैदिक समयका मान्यता र चलनहरूको आड भरोसा लिएर २१औँ शताब्दीसम्म पनि कसैको मर्यादामा ठेस पुर्‍याउने चल्तीहरूलाई यथावत् राख्नु कत्तिको उचित हो ? विवाह भनेको दुई व्यक्तिहरूबिच बाँकी जीवन सँगसँगै बिताउने प्रतिबद्धतासहितको सम्झौता नभएर कसरी विशुद्ध दान हुनसक्छ ? के आजको समाजमा कन्यादानले कुनै सकारात्मक प्रभाव पार्छ र ? समयसँगै मानिसको भेषभूषा चलनचल्ती, धर्म संस्कारहरूमा सकारात्मक परिवर्तन आउनु पर्ने होइन र ? कुनै व्यवहारिक उद्देश्य पूरा नगर्ने तर, बलियो नैतिक र भावनात्मक तत्त्व जोडिएको छ भन्दै यस्ता रूढिवादहरूलाई आँखा चिम्लिएर निरन्तरता दिनु कत्तिको बुद्धिमानी हो ?  

यसो भनिरहँदा कन्यादानको विषयमा कोही पनि बोल्दै नबोलेको भने होइन । कवि केवल विनाबीको कविता कन्यादानले यस विषयमा आफ्नो विचार यसरी राखेको छ;

बा !
जीवनको यो बिसौँ वसन्तमा उभिएकी
म कुन्ता कुमारी
कुमारी रहनै सकिनँ
कन्या त झन् हुँदै होइन
भन्नुस् बा !
अब कसरी गर्नुहुन्छ
मेरो कन्यादान ?

यो कविता मात्र हैन, बिहे संस्कारको आड लिएर महिलामाथि भइरहेको दमन विरुद्धमा दबेको आवाज हो । 

कन्यालाई दान गर्ने वस्तुका रूपमा होइन, उनलाई मानवको दर्जा दिएर विवाह गरिनुपर्छ । उनी कसैको बोझ होइनन्, उनी एक सबल, सक्षम महिला हुन् । दासका रूपमा होइन, उनको वैयक्तिक स्वतन्त्रतालाई पनि ध्यान दिने गरी सहमति गरिनुपर्छ । अहिले हामी महिलाको हक र समानता कुरामा अग्रसर भएर लागि परेका छौँ । सरकारी तथा निजी क्षेत्रहरूमा महिलाहरूले आफ्नै मेहनतले आफ्नो छुट्टै स्थान बनाइरहेका छन्  यस समयमा कन्यादान सम्मानजनक शब्द होइन भन्ने कुरा बुझ्न ढिला गर्नुहुन्न कन्यादानलाई ‘सामाजिक कुरीति’को रुपमा बुझ्न नितान्त आवश्यक छ ।

सम्बन्धित समाचार