काठमाडौं । हामीले धेरैले झेलिरहेको समस्या हो, एलर्जी । हाम्रो शरीरभित्र कुनै पनि बाहिरी तत्त्व प्रवेश गर्दा त्यसको विरुद्ध शरीरमा भएको प्रतिरक्षात्मक शक्तिले प्रतिक्रिया देखाउने गर्दछ । जुन छालामा देखिने गर्दछ, यसैलाई हामी एलर्जी भन्ने गर्छौँ । एलर्जी सामान्यदेखि जटिल सम्म बन्न सक्छ । एलर्जी भएको समयमा अनेक किसिमको लक्षण देखा पर्न थाल्छ । जस्तै, चिलाउने, कसैलाई खोकी लाग्ने, हाच्छिउँ आउने, शरीर सुन्निने, कसै कसैलाई झाडापखाला लाग्ने, बान्ता हुने हुन्छ ।
एलर्जीका लक्षणहरू
- छालामा रातो रातो डाबर आउनु, ससाना दाना आउनु, घाँटी खसखस हुनु र सास फेर्न समस्या हुनु
- हाच्छिउँ आउनु, आँखा चिलाउनु,रातो हुनु, सुन्निनु, पोल्नु वा आँखाबाट आँसु बग्नु
- नाक चिलाउनु, नाक बन्द हुन वा पानी बग्नु
- पेट दुख्नु वा पेट बर्टानु
- वाकवाकी लाग्नु वा वान्ता हुनु
- पखाला लाग्नु
- स्वाद अथवा गन्ध हराउनु
- मुखको वरिपरि सुन्निनु
एलर्जीका कारणहरू
- कसैलाई केही खानेकुरा अण्डा, मेवा, दूध, गहुँ जस्ता खानेकुराले पनि एलर्जी हुन सक्छ ।
- केही मानिसलाई औषधिको प्रयोगले पनि एलर्जी हुनसक्छ ।
- हावामा भएका फुलका पराग, माटोका कण, जनावरका भुवा वा धुलोका कारणले हुन्छ ।
- कसैलाई झिँगा, कमिला, मौरी,बारुलाले टोक्यो भने पनि एलर्जी हुन्छ ।
- घर पालुवा जनावरका प्वाँख, छाला र नङ्ग्राबाट कतिपय मानिसहरूलाई एलर्जी हुन्छ ।
- कसै कसैलाई नयाँ कपडाले पनि एलर्जी हुन्छ ।
समाधान
- आफूलाई के खानाले एलर्जी हुन्छ पत्ता लगाउने र नखाने ।
- जथाभाबी औषधि नखाने
- ओछ्यान तथा लगाउने कपडा सफा राख्ने
- एलर्जी भई हालेमा चिकित्सककोमा जाने ।