बुधबार , अषोज ३०, २०८१

ढिच्क्याऊ : कवि सम्मेलन (भाग-३)

अन्तिम कविको कविता सुन्ने स्वयम् कवि उद्घोषक र प्रमुख अतिथि मात्र बाँकी रहन्छन् । आँट बटुलेर ऊ सुनाउँछ अन्तिम कविता- 'खालि कुर्सीहरू ।'

image

Photo by: Himal Darpan

कवि भनेको को हो ? को भन्दा पनि किन हो ? गोजीमा तरकारी किन्ने पैसा नभएको अर्धसरकारी मान्छे शब्दहरूको ठुलो भकारी बोकेर किन डुलिरहन्छ ? बाटोघाटोमा भेट्ने हरकोहीको हात समाएर किन सुनाइरहन्छ लम्बेतान रुवाइ/हँसाइ ? प्रणालीको हगाई/पदाइ ? सत्ताको सुताई/ओछ्यानमा मुताई ? चिया पसलमा उधारो चियासँग चुरोट उडाउँदै ऊ किन पर्खिरहन्छ कान थापिदिने मुर्गा ?

रक्सी धोकेर रातभरि स्वास्नी कुटेर ऊ हुँदै नभएकी प्रेमिकाको ‘पिरेम’ किन कोरिरहन्छ ? राज्य हल्लाउँछु भन्दै किन हल्लाउँदै हिँड्छ शरीरको तल्लो भागमा रहेको कुनै डल्लो अङ्ग । लामो वाक्यांशका बिचबिचमा इन्टर हानेर समाजलाई उल्लु बनाउने ‘परजाति’ हो कि ‘नजिक जाति’ हो ? आफ्नो कविता कसैले नसुनेको ‘गु’नासो किन राखिरहन्छ । सुन्नै नसकिने किन लेखिरहन्छ ?

मोबाइलभरि कविता बोकेर कविहरू हिँड्छन्, कविता बेच्न । गल्ली-गल्ली, यो प्रतिष्ठान, उ प्रतिष्ठान, ऊ त्यो प्रतिष्ठान, चिया पसल-भट्टी असल, माइतीघर-ससुरालीघर । यस्तै कविहरूलाई भेला पारेर कोही आयोजन गर्छ कवि सम्मेलन । जहाँ उनीहरू खुलेर रुन पाउँछन् । ड्वाँड्वाँ/हब्याँहब्याँ/घुक्कघुक्क/सुँक्कसुँक्क… ।

सम्मेलनमा कविहरूको पहिलो सर्त हुन्छ, ‘हल्का व्यवस्था हुन्छ कि हुँदैन ?’ हुन त आयोजकले भारी व्यवस्था गरेको हुन्छ तर, कवि ‘हल्का’ कै आशामा हुन्छ । आखिर हल्का भनेको के हो ?  कविताभन्दा बढी ऊ किन त्यो ‘हल्का’प्रति आकर्षित छ ? हल्का व्यवस्था भएपछि कवि अङ्ग्रेजी पनि बोल्न थाल्छन् भन्ने सुनिन्छ । आईएलटियस दिने कुनै शिक्षकको आत्मा उनीहरू भित्र छिर्छ क्यारे । उनीहरू आत्मा खेलाउने बाबा बन्छन् सायद । कुनै तान्त्रिक कुरा हो, ‘हल्का’ भनेको मेरो बुझाइमा । कोही त्यही हल्काको भरमा कवि भएको पनि भन्छन् । मलाई कविताको विशेष चूर्ण या औषधी हो जस्तो पनि लाग्छ- ‘हल्का’ । बिहान भएपछि कोही कागती पानीको खोजीमा, कोही टाउको समाइरहेका, कोही छिँडीमै रमाइरहेका, कोही लडिरहेका, कोही वाकिरहेका, कोही थाकिरहेका भेटिन्छ । ‘हल्का’ पनि बढी हुन त नमिल्ने रहेछ क्यारे !

अब सम्मेलनतिरै जाऊँ  ।

हिँड्नु न हिँड्नु दिक्क लाग्दैन । धरोधर्म कार्यक्रम पनि समयमै सुरु हुन्छ । १० बजे सुरु हुने भनिएको कार्यक्रम पछाडिको ०(जिरो) काटेर समयमै १ बजे सुरु हुन्छ । पहिला थालिन्छ आसन ग्रहण, कालै रङ्गको आसनलाई अझ ग्रहण लाग्दो कस्तो देखिँदो हो ? मलाई अचम्म लाग्छ ।

आसनमा ग्रहण लागेर अझ कालो बनाएपछि, मन्तव्य । मन लागेको बोल्ने कुरा, सुन्ने भन्दिनँ म । अधिकांश निदाउन पाउने समय पनि हो त्यो । हल्काको ह्यांगमा बढी बोलिसकेपछि सभापतिको पालो सकिन्छ । त्यसपछि प्रमुख अतिथिको उल्टी । अतिथिहरूको डकार र खकार, बिचबिचमा आउने दुर्गेश होइन ‘विशिष्ट अतिथिहरूको चमत्कार !’

अब त आउला कविता सुनाउने पालो भनेर कुर्दा कुर्दै श्रोतालाई दिमागमा ग्यास्ट्रिक भइसक्छ । छटपटीले हृदयको किड्नी फेल भइसक्छ । त्यहाँ श्रोता पनि त कवि नै हुन्छन् । कतिबेला आफ्नो पालो आउला र सुनाएर भागौँला भन्ने दाउ छोपिरहेका ! मोबाइलमा कुन सुनाऊ भन्दै खोजिरहेका । कविता बुझेको/सुनेको नाटक गरिरहेका ! रमिता गरिरहेका !

ढ्यान्ट्याड्याङ्ग ! ढल्किसकेको दिनलाई मध्यनजर गर्दै उद्घोषकले उठेर हिँड्न लागेकालाई बसाउने जुक्ति निकाल्छ । कुटिल भावमा ‘अब कविता श्रवण गर्ने पालो’ भन्दै श्रोताहरूको आसनमा चुम्बक टाँसिदिन्छ । र, त्यहाँ उपस्थित कविमध्ये सबैभन्दा बढी चाप्लुसी गर्ने एकलाई बोलाउँदै उद्घोषक हराउँछ ।

आफू बसेको कुर्सीमुनि सुर्तीको लुड्को फ्याँकिसकेपछी पहिलो कवि खुसी हुँदै निकै प्रफुल्लित मुद्रामा मञ्च चढ्छ । मानौँ यो नै पहिलो र अन्तिम मौका हो, उसले कविता सुनाउन पाउने । मानौँ उसलाई सारा ब्रह्माण्डको राजा बनाएर अब उसको राज्याभिषेक गरिँदै छ । या भनौँ ऊ आफ्नो सारा मानसिक रोग कसैलाई जिम्मा लगाउन जाँदै छ । या, जाँदै छ संसारका सारा कुरूपता हटाएर सुन्दर बनाइसकेपछि कुनै उपाधि लिन ।

कविता सुनाउन अघि कवि ‘अहुम् ! अहुम् !’ गर्छ । गडडड ताली बज्छ ।  ‘माफ गर्नुहोला यो कविता थिएन भन्दै’ कवि प्रस्ट पार्छ र जनमानसले आफ्नो कविता बुझ्न नसक्ने कुरा बुझाउँछ । एक थान मुक्तक सुनाएपछि बल्ल कवि मोबाइल खोल्छ । ‘यो पुरानै हो, अलि पहिला लेखेको’ भन्दै अहिलेसम्म कसैले नसुनेको कविता ऊ सुनाउन थाल्छ ।

‘मेरो दोस्रो कविताको शीर्षक छ’, ‘तेस्रो… चौथो.. !’ कवि थाक्दैन, कविता सुन्दासुन्दा श्रोताका कान थाकिसक्छन् । कानले पनि कुन चाहिँ पापीको शरीरमा बस्न पुगेछु भन्दै कान मालिकलाई सराप्न थाल्छ । निदाएको छु/ छुइन्, मरेको/बाँचेको थाह पाउन उपस्थित केही श्रोता कवि आफूलाई चिमट्न थाल्छन् ।

‘अब कविता लिएर फलानो ठालु आउनुहोस्’ उद्घोषक बोलाउँछ, ‘माफ गर्नुहोला कवि आउनुहोस्’ । दोस्रो पनि उही भावभङ्गीमा गमक्क परेर, सबैलाई नमस्ते गर्दै सुरु हुन्छ । मानौँ कसैले गल्तीले उसलाई स्टार्ट गरेर छोड्दियो । ‘म खासै कविता लेख्न त जान्दिन, अब बोलाइहाल्नु भयो भनेर….!’

आफूलाई कवि नै नमान्ने उक्त कवि ‘कविता’ सुनाउन थाल्छ । सबैलाई सम्बोधन र पट्यार लाग्दो भाषण गरेपछि कविता । उसको पनि ‘दोस्रो.. तेस्रो…’ गर्दै फ्रस्टेसन पोखिएपछि तेस्रोको पालो । ऊ पनि के कम, जोत हान्न ‘तयारी त थिएन, एउटा छोटो सुनाउँछु’ भन्दै १२ पेजको खण्डकाव्य सुनाएर जान्छ । ‘चौथो…पाँचौँ….!’ उही प्रक्रिया ।

‘आमा’, ‘माता’, बा’की श्रीमती’, ‘मेरी श्रीमतीकी सासू’ आदि पृथक् कविता वाचन हुँदै जान्छन् ।
‘काठको बाकस’, ‘मरुभूमि’, ’परदेश’
‘स्वदेश फर्की आऊ’, ‘परदेश त्यागौँ’, ‘देशमै केही गरौँ’
’मेरो प्रेम’, ‘उनी’, ‘प्रेयसी’, ‘मायालु’
गाउँ राम्रो’, ‘सहर कुरूप’,….आदि इत्यादि ! भजन-ए-कविता-ए-नारा भन्दै जान्छन् पदासिन कविहरू ।

साधारण कुर्सीमा बसेका असाधारण कविको ध्यान भने आफ्नो पालोमा छ । कोही ‘मेरो कार्यक्रममा तँलाई बोलाउँछु, तेरोमा मलाई बोला’ भन्दै नम्बर साटिरहेका हुन्छन् । कोही कुनै पुरस्कारको मोलतोल गरिरहेका । कोही कवियत्रीलाई आकर्षित गर्न व्यस्त । कोही सुर्ती माड्न । कोही सुनाइरहेका कविको मजाक बनाएर कानेखुसी गर्दै हाँस्न । कोही आफ्नो पुस्तक बाँड्न । कोही खन्चुवा कवि भने खाजा कति बेला बाँड्छन् भन्ने ध्याउन्नमा हुन्छन् ।

आआफ्नो कविताले माहौल दिक्कलाग्दो/वाक्कलाग्दो/झ्याउलाग्दो बनाएपछि आफ्नो जरुरी काम देखाउँदै कविको भिड कम हुँदै जान्छ । अन्तिम कविको कविता सुन्ने स्वयम् कवि उद्घोषक र प्रमुख अतिथि मात्र बाँकी रहन्छन् । आँट बटुलेर ऊ सुनाउँछ अन्तिम कविता- ‘खालि कुर्सीहरू ।’

सम्बन्धित समाचार