सोमबार , अषोज २८, २०८१

राजेन्द्र घिसिङ- जसले फेरिदिए मकवानपुरकै दुर्गम गाउँ र गाउँलेको मुहार (अन्तर्वार्ता)

मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ मा नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका घिसिङले पाँच वर्षको अवधिमा गाउँ र गाउँलेको मुहार फेरिदिएका छन् ।

image

Photo by: हिमाल दर्पण

काठमाडाैं । मुलुक सङ्घीय प्रणालीमा गएपछि २०७४ मा भएको पहिलो स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरूको पाँच वर्षे कार्यकाल यही महिना सकिँदै छ । यही वैशाख ३० मा मुलुकभरी नै एकै पटकमा स्थानीय तहको दोस्रो निर्वाचन पनि हुँदै छ ।

नयाँ व्यवस्था र प्रणाली भएको कारणले स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूसामु थुप्रै चुनौतीहरू थिए । संवैधानिक एवम् कानुनी जटिलता र अस्पष्टताहरू थुप्रै थिए । कतिपय कानुन, ऐन तथा नियमहरू आफैले बनाउनुपर्ने थियो । नयाँ प्रणालीलाई बुझ्दै त्यसलाई कार्यान्वयनमा लैजान निकै चुनौतीपूर्ण नै थियो ।

यसबिचमा विश्वव्यापी कोरोना महामारीले पनि करिब दुई वर्ष आतङ्क मच्चायो । कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापनमा स्थानीय तहले अद्वितीय भूमिका खेले । तर महामारीसँग जुध्नुपर्दा स्थानीय तहहरूले अपेक्षाकृत विकास निर्माणका कार्यहरू गर्न सकेनन् । कतिपय जनप्रतिनिधिहरूले भने चुनौतीको सामना गर्दै त्यसलाई अवसरमा बदले ।

धेरै स्थानीय तहहरूमा जनप्रतिनिधिहरूले जनभावना अनुरूप काम गर्न नसकेको गुनासोहरू आइरहे र आइरहेकै छन् । तर केही यस्ता जनप्रविधिहरू पनि छन् जसले स्थानीय समुदायले अपेक्षा गरेको भन्दा पनि बढी विकास निर्माण गरेका छन् । दूर-दराजका गाउँ बस्तीहरूमा विकासको मूल फुटाएका छन् । स्थानीय समुदायलाई विकास र समृद्धिको स्वाद चखाएका छन् । जीवनस्तरमा परिवर्तन ल्याएका छन् । गाउँ बस्तीको मुहार फेरेका छन् । साथै स्थानीय समुदायको मुहार पनि उज्यालो बनाएका छन् ।

दूर-दराजका विकट गाउँ बस्ती र त्यहाँका जनतालाई अन्धकारबाट उज्यालोतर्फ डोर्‍याउन सफल एक जनप्रतिनिधि हुन् -राजेन्द्र घिसिङ । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ मा नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका घिसिङले पाँच वर्षको अवधिमा गाउँ र गाउँलेको मुहार फेर्न सफल भएका छन् । जिल्लाको सबैभन्दा उत्तरी भेगमा अवस्थित कैलाश गाउँपालिका भौगोलिक हिसाबले अत्यन्तै विकट क्षेत्रमा पर्दछ । वडा नम्बर २ कैलाश गाउँपालिकाकै सबैभन्दा विकट वडा थियो । तर यो पाँच वर्षको अवधिमा घिसिङले दुर्गम  र अन्धकार वडालाई ‘झिलिमिली’ नै बनाएका छन् ।

अन्य जनप्रतिनिधिहरूसँगै घिसिङको पनि पाँच वर्षको कार्यकाल समाप्त हुँदै छ । प्रस्तुत छ, कैलाश गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष एवम् कुशल जनप्रतिनिधि राजेन्द्र घिसिङसँग उनको पाँच वर्षे कार्यकालको अनुभव, उनले गरेका कार्यहरू, उनको आगामी यात्रा र योजना लगायत विषयमा केन्द्रित रहेर हाम्रा सहकर्मी चन्द्र तामाङले गरेको कुराकानी:

१. पाँच वर्ष वडाध्यक्ष भएर काम गर्नुभयो, कस्तो रह्याे अनुभव ?

नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको पहिलो जननिर्वाचित जनप्रतिनिधि हुन पाउँदा मलाई गर्व लागेको छ । सङ्घीयतालाई संस्थागत गर्न र गाउँ गाउँमा सिंहदरबारको नारालाई सार्थकता दिन मैले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निभाउनु पर्छ भन्ने ध्येयका साथ लागेँ । नयाँ व्यवस्था कार्यान्वयन को पहिलो चरणमा परेको कारणले केही अनभिज्ञता छँदै थियो । त्यसमाथि केन्द्र/प्रदेशबाट दिनहुँ कार्यविधि तथा ऐन को संशोधन सहित निर्देशन आइरहन्थ्याे । त्यसमा आफूलाई अपडेट राख्नु पर्ने हुन्थ्यो । जनतालाई सङ्घीयताको स्वाद चखाउनुपर्छ र चुनौती सँगै अवसर पनि छ भन्ने दृढताका साथ काम गरेँ । जनताको राम्रै माया, सद्भाव र प्रतिक्रिया बटुलेको छु ।

२. आफ्नो कार्यकालमा भएका उल्लेखनीय कार्यहरू के-के हुन् ? शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, सञ्चार, विद्युत्, कृषि, पर्यटन लगायत विकासका पूर्वाधारहरूमा  के-के गर्नुभयो ?

स्थानीय तह २०७४ मा म वडाध्यक्ष पदमा निर्वाचित भएपछि सङ्घीयताको मर्म नै दूर-दराजका गाउँ बस्ती जहाँ वर्षौँदेखि अभाव, गरिबी, राज्यको असमान विकास नीतिहरू झेल्दै आएका समुदायहरू बस्छन् ती गाउँ बस्तीको सन्तुलित विकास हो र यसो नभएसम्म देश विकास हुन सक्दैन भन्ने मान्यताका साथ अघि बढेँ । काठमाडाैंकाे सडकमा अलिकति खाल्डो भयो भने पिच उप्काएर करोडौँ बजेट त्यहाँ लगानी गर्छ तर  गाउँमा कच्ची बाटो समेत नबनेर किसानको उत्पादन बारीमै कुहिन्छ । एम्बुलेन्स हिन्ने बाटो नहुँदा बिरामीले उपचार पाउँदैन ।  असन्तुलित विकासको जुन नीति छ, यसको सुरु देखिनै विरोधी हुँ म ।

समग्रमा मैले मेरो कार्यकालमा शिक्षा क्षेत्रमा (सरस्वती आ.वि. मा चार कोठे २ ओटा पक्की भवन निर्माण सम्पन्न गरेँ ।  व्यवस्थित शौचालय निर्माण गरी विद्यालयलाई तार-बारले सुरक्षित बनाइएकाे छ । विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना, सञ्चार तथा सूचना प्रविधि (ICT) को प्रयोगद्वारा विद्यालयको हरेक क्रियाकलाप लाई आधुनिकीकरण गरिएको छ ।  कमलादेवी मा.वि. मा जापानी सहयाेग नियाेग JICA द्वारा निर्मित व्यवस्थित भवनमा छात्रावासकाे व्यवस्था,  स्वच्छ खानेपानीको व्यवस्था, ICT कार्यक्रम लागु गरेका छाैँ । घेराबार निर्माणाधीन अवस्थामा रहेकाे छ ।  विद्यालयको आन्तरिक स्रोत सञ्चितिमा व्यापक वृद्धि भएकाे छ ।  अन्य प्रा.वि.हरूमा पूर्वाधार निर्माण व्यवस्थापन सँगै व्यवस्थित शिक्षण सिकाई क्रियाकलाप मा निरन्तर पहल र अनुगमन गरेको छु ।

स्वास्थ्य तर्फ सामुदायिक स्वास्थ्य ईकाई भवन निर्माणसँगै सेवा सुचारू गरिएको र गाउँघर क्लिनिकहरू निर्माण गरी खोप सञ्चालन गराइएको छ । विभिन्न स्वास्थ्य शिविरहरू सञ्चालनसँगै कतिपय आर्थिक अभावका कारण रोग पालेर बसेका दीर्घ रोगीहरूलाई निःशुल्क उपचार गराउन सफल भएको छ । कोरोना भाइरसको महामारीका बेला वडाबाट विशेष स्वास्थ्य सुरक्षा मापदण्ड नीति लागू गरी धेरै मात्रामा सङ्क्रमण फैलिन बाट रोकिएको थियो ।

खानेपानी तर्फ म निर्वाचित हुँदाको बेला टोल टोलमा खानेपानीको व्यापक समस्या थियो । अहिले प्रत्येक टोलमा खानेपानी सहज भएको छ ।खानेपानी समस्यालाई दीर्घकालीन समाधानका लागि सङ्घीय खानेपानी आयोजना अन्तर्गत वडाभरीलाई समेट्ने गरी बृहत् खानेपानी योजना निर्माण कार्य सुरु भएको छ । यो आयोजना सम्पन्न भएपछि खानेपानी सम्बन्धी समस्या झेल्न नपर्ला ।

यातायात तर्फ म वडाध्यक्षको रूपमा निर्वाचित हुँदा वडामा डाँडाबास, दुम्सिखर्क हुँदै वैकुण्ठ सम्म र गैरीगाउँ पकनी हुँदै वैकुण्ठ, छ्याङ्दुङ सम्म जेनतेन मोटर गाडी चल्ने बाटो थियो । त्यसयता जनताको माग र आवश्यकताका आधारमा टोल टोलमा सडक विस्तार भएको छ । वडाबाट धादिङको गजुरी हुँदै राजधानी काठमाडाैं र बागमती प्रदेश राजधानी हेटौडा जोड्ने छोटो दुरीको सडकहरू निर्माण भएको छ । अहिले मनहरी बजार बाट र काठमाडाैं बाट दैनिक बस र बोलेरो सेवा सञ्चालन भइरहेको छ ।

सञ्चार तर्फ भन्नुपर्दा यश क्षेत्रलाई पहिला स्मार्ट सेल बाट सेवा दिइरहेकोमा हाल उक्त टावर बन्द भएको र धादिङको ब्रोम्दिमा सञ्चालनमा रहेको नेपाल टेलिकमको टावरले केही भाग र दामगडेमा रहेको टावरबाट केही भाग कभरेज गरेता पनि सहज र सुलभ भने छैन । त्यस सम्बन्धी नेपाल टेलिकममा पटक-पटक डेलिगेसन गएको तर सुनुवाइ नभएको र अब चाडै निकास पाउने आशा छ ।

विद्युत् तर्फ वर्षौँदेखि अन्धकारमा बसिरहेका यस वडाको बासिन्दालाई विद्युत् विस्तार सँगै उज्यालो दिन सफल भएको छ । अब धोबिखोला र ममचे टोलका ९/१० घरलाई चाडै विद्युत् विस्तार हुँदै छ ।

कृषि तर्फ प्रत्येक टोलको माटो परीक्षण सँगै माटो अनुसारको खेती अभियान सञ्चालन गरेका छाैँ । यससँगै अदुवा पकेट कार्यक्रम, आलु, अलैँची आदिको सम्भावित अध्ययनसँगै परीक्षण खेती, तरकारी भण्डारण केन्द्र निर्माण, टोल-टोलमा तरकारी सङ्कलन केन्द्र स्थापना, कृषिमा आधुनिकीकरणको प्रयागको लागि मिनिट्रीलर, हाईजेनिक प्लाष्टिक टनेल निर्माण, प्रदेश स्तरीय असला माछा पालन कार्यक्रम, विभिन्न उन्नत जातको बीउ-विजन वितरण , व्यावसायिक पशुपंक्षी पालनलाई अनुदान वितरण र नमुना चिया बगानको सुरुवात भएको छ ।

पर्यटन तर्फ भन्नुपर्दा म वडाध्यक्षमा निर्वाचित हुँदा देखिनै मेरो वडालाई पर्यटकीय क्षेत्रको रूपमा चिनाउने ठुलो धोको थियो । मकवानपुर जिल्लाको पर्यटकीय क्षेत्रको अत्यन्तै सम्भावना बोकेको यस क्षेत्रमा गा.पा.बाट  विस्तृत अध्ययन प्रतिवेदन (DPR)  तयार गरी सङ्घीय पर्यटन मन्त्रालयबाट पौने ३ करोड बजेट स्वीकृत भएता पनि  विभिन्न कारण त्यसको ठेक्का हुन सकेन । गाउँपालिकाबाट प्राप्त बजेटलाई सही सदुपयोग र सरोकारवालाहरूको सक्रियतामा अहिले वैकुन्ठमा रहेकाे विष्णुकुण्डमा गुरु पद्म सम्भवको प्रतिमा स्थापना, डाँफे मुनाल पार्क निर्माण, कैलाश डाँडामा शिवको प्रतिमा स्थापना भएको छ । जसले गर्दा विभिन्न जिल्ला र स्थानबाट आन्तरिक पर्यटकहरूको घुइँचो लाग्न थालेकाे  छ । भर्खरै यही क्षेत्रमा पर्यटन पूर्वाधार निर्माणका लागि बागमती प्रदेशबाट बजेट विनियोजन गराउन सफल भएको छ । त्यसको पनि अब चाँडै काम सुरु हुँदै छ ।  वैकुण्ठ र कैलाशलाई मकवानपुरको पर्यटकीय गन्तव्य बनाउने ठुलो उद्देश्य छ ।

३. काम गर्न कतिको सहज छ ? स्थानीय सरकारले प्राप्त गरेका अधिकारहरू पर्याप्त छन् ? काम गर्ने क्रममा के-कस्ता कानुनी जटिलताहरू देखापरे ?

सुरूसुरूमा  स्थानीय तह, प्रदेश र सङ्घ को कार्यविधिहरू दिनहुँ संशोधन हुने गरेका थिए । त्यसले गर्दा अस्पष्टता र केही अन्योलता थियो नै ।  जसका कारण दैनिक कार्यसम्पादनमा केही जटिलताहरू आएको थियो ।  तैपनि स्वअध्ययन तथा संविधानले प्रदत्त अधिकारहरूलाई सदुपयोग गर्दै जनताको काम सरल र सहज तरिकाबाट गरेँ । त्यस्ता ठूलाे जटिलता एवम अढ्चनहरू भाेग्न परेन । सायद काम गर्ने इच्छाशक्ति भएकाले हाेला ।

४. तपाईँले नेतृत्व गर्नुभएको दुई नम्बर वडा भौगोलिक हिसाबले सम्भवत: कैलाश गाउँपालिकाकै सबैभन्दा विकट वडा हो । तर यो पाँच वर्षमा सबैभन्दा बढी विकास दुई नम्बर वडामै भएको भन्छन्, देखिन्छ पनि, कसरी सम्भव भयो ?

निश्चय पनि मकवानपुरको विकट वडा अन्तर्गत मेरो वडा पर्छ । अहिले चाहिँ विकट भन्न मिल्दैन किनकि वडाबाट अहिले काठमाडाैं र हेटौडा ३ घण्टामा पुगिन्छ । विकासका सन्दर्भमा भन्नुपर्दा सबैभन्दा ठुलो कुरा योजना (PLAN) हो । योजना बनाउँदै गर्दा पनि योजनालाई क्रमबद्ध रूपमा सही कार्यान्वयन गर्नु गराउनु पनि मुख्य विषय हो । मैले वडाको विकासमा गाउँपालिकाको मात्रै भर नगरेर प्रदेश र केन्द्रमा उत्तिकै पहल गरेँ, अनि प्राप्त योजनाको उपभोक्ता समितिका साथीहरूले अपेक्षाकृत समय र गुणस्तरको काम गर्नुभयो । त्यसले गर्दा पनि समग्र वडाको विकास सम्भव भएको हो ।

५. स्थानीय जनप्रतिनिधि राजनीतिक नृतत्व मात्रै नभएर प्रशासनिक कर्मचारी पनि हो भन्ने धेरैको अनुभव छ, जो दैनिक जनताको प्रशासनिक काममा समेत खटिनुपर्दछ । तपाईँको अनुभव कस्तो छ ?

एकदमै यथार्थ कुरो हो । सङ्घीयता लागू भई कार्यान्वयनको चरणमा सबै स्थानीय तहहरूमा कर्मचारी अभाव थियो । एउटा वडा सचिवले २/३ वटा वडाहरूमा काम गर्नुपर्ने बाध्यात्मक परिस्थिति थियो । जसले गर्दा जनताको काम  ढिला हुने गर्थ्यो । त्यस अवस्थामा वडा सचिवलाई खाली घटना दर्ताको प्रमाणपत्रमा हस्ताक्षर गराएर आफैले सेवाग्राहीको समयानुकूल आफैले सबै काम गर्नुपर्ने हुन्थ्यो । त्यति मात्रै होइन कार्यालयमा कार्यालय सहायक थिएन । आफैले बढारकुँढार र सरसफाइ र कार्यालय खोल्ने बन्द गर्ने सबै आफैले गर्ने गर्नुपर्थ्याे । पछि कर्मचारी व्यवस्थापन भयो अनि सहज भयो ।

६. पाँच वर्ष वडा सरकार प्रमुख भएर काम गर्दै गर्दा कुनै त्यस्ता अविस्मरणीय रमाइला/नरमाइला क्षणहरू छन् ?

मेरो पाँच वर्षे कार्यकालमा अविस्मरणीय क्षण भनेको वैकुण्ठमा विद्युत् बत्ती बलेको दिन हो । जुन दिनले कयौँ अँध्यारोहरूलाई भगाइदिएको थियाे । वर्षाैँदेखि अन्धकारमा रहेकाे गाउँ र जनतालाई उज्यालाे युगमा प्रवेश गराएका त्याे दिन साँच्चे खुशी लागेकाे थियाे । त्यस्तै अर्काे रमाइलो क्षणको रूपमा भर्खर निर्माण सम्पन्न डाँफे मुनाल पार्कमा हिउँ पर्दा र नयाँ वर्षमा मानिसहरूको भिड देख्दा अत्यन्तै खुसी र रमाइलो लागेको थियो । नरमाइलो दिनको रूपमा कहिले काहीँ राम्राे काम  गर्दा गर्दै अनावश्यक आलोचना आउँदा नरमाइलो लाग्या थ्यो। तर पनि सकारात्मक सोच्दै अगाडि बढ्दै छु ।

७. वडा सरकार सबैभन्दा तल्लो तहको सरकार हो, जो जनतासँग प्रत्यक्ष रूपमा जोडिएर काम गर्दछ र जनताको वास्तविक अवस्था पनि ज्ञात हुन्छ । तपाईँको कार्यकालमा जनताको मुहारमा कतिको परिवर्तन पाउनुभयो ? उनीहरूबाट के कस्ता प्रतिक्रिया पाउनु भएको छ ?

पक्कै पनि सङ्घीयता कार्यान्वयन को मुख्य आधार नै वडा हो । वडाबाट प्रवाह हुने सेवा त्यहाँबाट गरिने व्यवहारले नै यो व्यवस्थाको स्थिरता र यसप्रति जनताको भरोसा बढ्छ । मैले वडा समाले यता मैले मेरो बलबुता र विवेकले भ्याएसम्म संविधानले प्रदत्त क्षेत्राधिकार भित्र रही प्राप्त श्रोत साधनको अधिकतम प्रयोग सँगै सरल र सहज रूपमा सेवा गर्ने काेसिस गरेँ । सबैलाई त चित्त बुझाउन सकिएन होला तर अधिकतमलाई सन्तुष्टि दिलाएको छु जस्तो लाग्छ  । धेरै बासन्दाहरू मेराे कार्य सम्पादनप्रति खुसी नै भएकाे पाएकाे छु ।

८. तपाईँको अनुभवमा एउटा कुशल जनप्रतिनिधिमा के-कस्ता क्षमता र गुणहरू हुन आवश्यक छ ?

एक कुशल जनप्रतिनिधिमा प्रतिकूलतालाई अनुकूलतामा परिमार्जन गर्ने अक्कल वा सीप चाहिन्छ । यसका साथै धैर्यता, सहनशीलता, नम्रता जस्ता गुणहरू अत्यवाश्यक छ । कार्य सम्पादन गर्ने  प्रतिबद्धता  र जिम्मेवारी बोध हुनपर्दछ । जबाफदेहिता अपरिहार्य छ ।

९. आगामी वैशाख ३० मा हुने निर्वाचनमा तपाईँको दाबेदारी कुन पदमा हो ?

आगामी ३०  वैशाख २०७९ मा हुन गइरहेकाे  निर्वाचनमा मैले कुनै उम्मेदवारी नदिने भनेको थिए । तर साथीहरूको आग्रह र वडाको अधुरा कार्य सम्पन्न गर्नकै लागि भएपनि पुन वडाध्यक्ष पदमै उम्मेदवार दिँदै छु ।

१०. वडाध्यक्षमै किन दोहोरिन चाहनुहुन्छ ? तपाईँ त  पार्टी (नेपाली कांग्रेस) को कैलाश गाउँपालिकाको सभापति पनि हुनुहुन्छ, वडा भन्दा माथिको टिकट पनि पाउनुहुन्थ्यो होला नि ?

कतिपय साथीहरूले गाउँपालिका अध्यक्ष मा उम्मेदवारी दिन आग्रह गर्नुभएको थियो । राजनीतिमा धैर्यता र त्याग पनि चाहिन्छ । मैले गाउँपालिका नेतृत्व गर्न सक्ने क्षमता हुँदाहुँदै पनि दाबी गरेन । किनकि अग्रजको सम्मान र नेतृत्वको सल्लाह अनि निर्देशन  मत्वपूए पक्ष मान्छु । वडाको सम्पन्न हुन बाँकी महत्त्वाकाङ्क्षी आयोजनाहरू, जस्तै पर्यटकीय क्षेत्र विस्तार, बृहत् खानेपानी आयोजना, समृद्ध वडा निर्माण लाई पूर्णता दिनलाई पुन: वडामै उम्मेदवारी दिने निर्णय लिएको हुँ ।

११. वडाको विकासका लागि आगामी के-के योजनाहरू छन् ?

अबको कार्यकालमा सम्पूर्ण मुख्य सडक तथा शाखा सडक (ट्र्याक)हरूलाई व्यवस्थित बनाई स्तरीकरण गर्ने, शाखा सडक विस्तार हुन बाकी टोलहरूमा सडक बिस्तार गर्ने, कैलाश र वैकुण्ठ लाई जोड्ने गरी करिब १ कि.मि. को दुरीमा जिप लाइन निर्माण गर्ने, कैलाश डाँडामा रहेको गुफालाई व्यवस्थित बनाई धार्मिक पर्यटन क्षेत्रको रूपमा विस्तार गर्ने, वैकुण्ठमा अधुरो रहेको पर्यटन पूर्वाधार योजनालाई पूर्णता दिने, सानोडाँडाखर्क-खोडेधार-कैलाश डाँडा-गुप्तेस्वरी गुफा पदमार्ग निर्माण गर्ने  याेजना छ । त्यसैगरी छ्याङ्दुङ-वैकुण्ठ जोड्ने सिधा सडक निर्माण गर्ने, कमलादेवी मा.वि. मा +२ सञ्चालन गर्ने, छ्याङ्दुङ वृहत् सिँचाइ निर्माण गरी बेमौसमी खेतीतर्फ आकर्षण बढाउने, सानोडाँडाखर्कमा व्यवस्थित खेलमैदान निर्माण गर्ने, वडामा प्रचलनमा रहेको घाटु नाच, मारुनी नाच, मौलिक भजन, देवथानहरू(चक्रदेवी मन्दिर सानोडाँडाखर्क, रिखेस्वर थान पखेली आदिको उचित संरक्षण गर्ने याेजना बनाएकाे छु । त्यस्तै घरेटी अल्छेमा व्यावसायिक बाख्रा पालन अनुदान कार्यक्रमहरू व्यवस्था गर्ने, आईबुङ-अल्छे-घरेटी-दमार हुँदै माने भन्ज्याङ सडक निर्माण लाई प्राथमिकतामा राख्ने, महिला सशक्तीकरणमा जोड दिने, योजना निर्माणमा महिला बालबालिका तथा अशक्तहरूको समेत प्रतिनिधित्व हुने गरी काम गर्ने, स्वास्थ्य शिक्षा सम्बन्धी सम्बन्धित क्षेत्रका रोहबरमा आवश्यकताका आधारमा योजना निर्माण गरी प्राथमिकतामा राख्ने र समग्रमा सन्तुलित विकास सहितको समृद्ध वडा बनाउनमा अहोरात्र लाग्ने याेजना छ ।

१२. अन्त्यमा वडाका बासिन्दाहरूलाई के भन्न चाहनुहुन्छ ?

अन्त्यमा सम्पूर्ण वडावासीहरूमा म के भन्न चाहन्छु भने तपाईँहरूले मलाई मत दिई विजय गराइदिनुभयो र मैले सकेसम्म तपाईँहरूलाई सन्तुष्टिपूर्ण सेवा दिने प्रयास गरेको छु  । यसमा म १०० मा १०० नै सही छु भन्दिन । मान्छे हो कहीँ कतै गल्ती पनि भयो होला, त्यसप्रति क्षमा चाहन्छु । गल्ती गरेको खण्डमा औँल्याइदिनुहोला म सुध्रिन तयार छु । पाँच वर्ष बितेको पत्तै भएन, यही वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा मैले पुन: वडाध्यक्ष पदमा उम्मेदवारी दिँदै छु, फेरि एक पटक तपाईँहरूको अमूल्य मत दिई विजय गराइदिनु हुनेछ भन्ने पूर्ण विश्वास र आशा छ ।

आसन्न स्थानीय तहको निर्वाचनलाई सभ्य र भव्य रूपमा समापन्न गराऔं, मतदानबाट कोही नछुटुन्, हाम्रालाई होइन राम्रालाई आफ्नो अमूल्य मत प्रदान गरी दूरगामी भिजन र गाउँ समाजलाई रूपान्तरण गर्न सक्ने  व्यक्तित्वलाई विजय गराऔं, भन्न चाहन्छु ।

अन्त्यमा मैले पाँच वर्षे कार्यकालमा गरेको कार्यहरू सबै माझ राख्ने अवसर दिनुभएकोमा तपाईँलाई पनि धेरै धेरै धन्यवाद ।

तस्बिर:

सम्बन्धित समाचार