शुक्रबार , अषोज २५, २०८१

मधेश प्रदेशमा ऐतिहासिक एवम धार्मिक पर्यटनको सम्भावना र चुनाैति

image

नेपाल पर्यटकीय सम्भावनाले भरिपूर्ण मुलुक हो । यहाँका सबै भूगोल र प्रदेशमा पर्यटनको सम्भावना छ । हिमालका चुचुराहरु होस् या पहाडका थुम्काहरु, तराईका समथर फाँटहरु होस् या भित्री मधेशका उपत्यकाहरु । सबै क्षेत्रमा पर्यटनको उत्तिकै सम्भावना छ । नेपालका सात वटै प्रदेशमा सबै किसिमका पर्यटनको सम्भावना छ । सबै प्रदेशमा ऐतिहासिक, धार्मिक, प्राकृतिक, साँस्कृतिक एवम साहसिक पर्यटनको सम्भावना छ ।

सबै भौगोलिक एवम राजनीतिक प्रदेशका आ-आफ्नै विशिष्टता भने छन् । जसले गर्दा पर्यटनको सम्भावना पनि विशिष्ट नै हुन्छन् ।
नेपालमा प्राकृतिक एवम धार्मिक पर्यटनलाई जोड दिइएको पाइन्छ । जसका कारण पर्यटन भन्ने वित्तिकै हिमाल पहाडको यात्रा गर्नु, मठ मन्दिर, गुम्बा, मस्जीद, चर्च धाउनु हो भन्ने बुझाई पाइन्छ । यहाँ ऐतिहासिक एवम सांस्कृतिक पर्यटनलाई त्यत्ति ध्यान दिइएको पाइँदैन ।

नेपालको मधेश प्रदेश ऐतिहासिक, धार्मिक एवम साँस्कृतिक पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य हो । ऐतिहासिक धार्मिक स्थलहरुको खानीको रुपमा रहेको मधेश प्रदेशका सबै जिल्लामा ऐतिहासिक एवम धार्मिक स्थलहरु छन् ।

जनकपुरधाम क्षेत्रमा जानकी मन्दिर, सिम्रौनगढमा रहेका राजदरबार लगायतका क्षेत्रहरु ऐतिहासिक हुन् । त्यस्तै यस भेगमा रहेका विभिन्न मठमन्दिरहरुको समेत बेग्लै दन्त्यकथाहरु छन् ।

बारा जिल्लाको अमलेखगञ्जस्थित चुरियामाई स्थान, सिम्रौनगढ स्थित कंकालिनी मन्दिर, रानीबास, गढीमाईको महागढी माई मन्दिर, आधाबारस्थित पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय क्षेत्र हुन् ।

त्यस्तै पर्सा जिल्लामा रामभौरी भट्ठास्थित दुग्धेश्वर महादेव मन्दिर, बिरगंजको घडिअर्वा पोखरी, शंकचार्य गेट, महुवनको पारसनाथ मन्दिर र पर्सास्थित सुर्यगंगा आरतीलाई मुख्य गन्तव्य स्थलको रुपमा लिइएको छ ।

त्यस्तै रौतहटमा गौरस्थित बाराहवा ताल, नजरपुरको निन्जाधाम, शिवनगरको पशुपतिनाथ मन्दिर, बागमतीस्थित नूनथर, चन्द्रनिगहरपुरको शहीद पार्क पनि पर्यटकीय गन्तव्यस्थल हो ।

धनुषा जिल्लामा जनकपुरधामस्थित जानकी मन्दिर, मिथिला आर्ट, विवाह मण्डप, जनकपुर रेल्वे स्टेसन, गंगासागर तलाउ धार्मिक तथा सांस्कृतिक दृष्टिले प्रमुख पर्यटकीय स्थल हुन् । महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ मन्दिर, मठिहानीको लक्ष्मीनारायण मन्दिर, बर्दिबासको पञ्चधुरा माईस्थान, रौजा बजारस्थित मुस्लिमहरुको रौजा मजार, टुटेश्वरस्थित टुटेश्वरनाथ मन्दिरलाई गन्तव्य स्थलको रुपमा प्रदेश सरकारले निर्धारण गरेको छ ।

त्यस्तै, सर्लाहीमा सलेमपुरस्थित चमेलीमाई मन्दिर, बागमतीको हरिहर्क क्षेत्र, चन्द्रनगरको नाधी ताल, लालबन्दीस्थित राधाकृष्ण मन्दिर, सगरनाथस्थित सागरनाथ जंगल सहितका वन क्षेत्र रमणीय छन् ।

सप्तरीमा सखडास्थित छिन्नमस्ता सखडा भगवती मन्दिर, भारदहको कंकालिनी मन्दिर र कोशी टापु, तिरहुत गाउँपालिकास्थित लहजरा ताल, राजविराजको राजदेवी मन्दिर र सिरहामा बन्दीपुरस्थित बाबा ताल, महसोठाको राजा सलहेश स्थान, लहानको पकडिया गढ, ढोढनाको राजदेवी पञ्चवती मन्दिर र लहानस्थित सलहेश फुलबारी लगायतका स्थानलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा प्रदेश सरकारले निर्धारण गरेको छ ।

नेपाल भ्रमण बर्ष २०२० को तयारी गर्ने क्रममा नेपाल सरकारले तत्कालीन (प्रदेश नम्बर २) हाल मधेश प्रदेशका ४० वटा गन्तव्यहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिएको थियो । तर विश्वव्यापी कोभिड-१९ महामारीका कारण भ्रमण बर्ष मनाउन नपाएपछि सरकारले पहिचान गरेका पर्यटकीय गन्तव्यहरुको पनि प्रचारप्रसार समेत भएको देखिँदैन । मधेश प्रदेशमा पर्यटनको अथाह सम्भावनालाई ध्यानमा राखेर प्रदेश र स्थानीय सरकारले त्यहाँका ऐतिहासिक, धार्मिक, साँस्कृतिक सम्पदा एवम ताल, पोखरीहरुको प्रचार प्रसार, संरक्षण एवम संवद्र्धनमा ध्यान दिनु आवश्यक छ ।

चुनाैति

पर्यटन क्षेत्रको सबैभन्दा ठूलो चुनौति कोभिड १९ महामारी नै हो । यो मधेश प्रदेशको लागि मात्रै नभएर विश्वकै पर्यटन क्षेत्रको लागि चुनौति बनेको छ । यसका अलावा मधेश प्रदेशमा पर्यटनको विकासमा थुप्रै चुनौतिहरु छन् । मधेश प्रदेशमा सयौँको संख्यामा धार्मिक, ऐतिहासिक एवम साँस्कृतिक सम्पदाहरु छन् । तर त्यहाँका औँलामा गन्न सकिने सम्पदाहरु मात्रै चर्चामा छन् । कतिपय सम्पदाहरुको पौराणिकता समेत हराउन थालेका छन् । संरक्षणको अभावमा त्यहाँका सम्पदाहरु लोप हुने अवस्थामा पुगेका छन् । तीनको पहिचान गरि संरक्षण र संवद्र्धन गर्नु आवश्यक छ । ती स्थल र सम्पदाहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रचार प्रसार गर्नु पर्दछ ।

त्यहाँ लाग्ने मेला जात्रा, पर्वहरुको ऐतिहासिकता जोगाउन जरुरी छ । स्थानीय समुदायमा पर्यटनबारे सुझाउनका लागि स्थानीय सरकारले अभियान नै चलाउनुपर्ने देखिन्छ । मधेश प्रदेशमा पर्यटनको प्रचुर सम्भावना छ । पर्यटनको विकास गर्न सबै तहका सरकारको ध्यान जान जरुरी छ । पर्यटनप्रति स्थानीय समुदाय जागरुक हुन जरुरी छ । मधेश प्रदेशमा पर्यटनको सम्भावनालाई ध्यानमा राखेर त्यस क्षेत्रको विकासमा जोड दिन सकेमा यो प्रदेश ऐतिहासिक, धार्मिक एवम साँस्कृतिक पर्यटनको गन्तव्य बन्नेमा दुइमत छैन ।

Tags:

सम्बन्धित समाचार